Logo

प्रमुख समाचार

सरकार–सिके राउतबीचको सहमतिमाथि भीम रावलको विषवमन किन ?



आफ्नै पार्टी नेतृत्वको सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिलाई राष्ट्रघाती कदम भन्दै नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी पद्धतिलाई चुनौति दिँदै नेतृत्वप्रति देश बिखण्डन गर्ने तत्वहरुसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाएका छन् । उनले सरकारले सिके राउतसँग गरेको सहमति आफूले नमान्ने मिडियावाजी गरिरहेका छन् । उनकै निर्देशनमा हिजो मंगलबार धनगढीमा विरोध सभा गरिएको छ । रावलले नेकपाका कैलाली जिल्ला नेता दिनेश सुवेदीलाई अगाडि सारेर विरोध जुलुस प्रदर्शन गर्न लगाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक मन्त्रालयले फागुन २९ गत्ेदेखि चैत ३ गतेसम्म आयोजना गर्न लागेको मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा भाग लिन आएका आएका खेलाडी र केही स्थानीय नेताहरुलाई सहभागी गराएर मंगलबार धनगढीमा विरोध जुलुस निकालिएको थियो । जुलुसमा सहभागीहरुले आक्रोशित भएर धनगढी रंगशालामा राखिएको नेपालको झण्डालाई समेत उखेलेर फालेका थिए ।

विरोध सभालाई सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका छोरा भीष्म सुवेदीले सम्बोधन गर्दै सरकार र राउतबीच भएको सहमति राष्ट्रघाती भएको बताएका थिए । विरोध सभामा युवा संघका नेता प्रकाश रोकाया, स्ववियु सचिव कृष्ण रोकायाले लगायतले सम्बोधन गर्दै आफ्नै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । आफूलाई समग्र सुदूरपश्चिम प्रदेशको नेकपाको एक मात्र नेता दावी गर्ने गरेका रावलले सरकार – राउतको सहमतिविरुद्ध ब्यापक प्रदर्शन गर्न उनीनिकट मानिने नेकपाका नेताहरु दीर्घराज सोडारी र हिक्मत कुँवरलाई खटाएको एक नेताले बताए । सोडारी चारित्रिक विचलनको आरोप लागेर मन्त्रीबाट बर्खास्त भएका नेता हुन् ।

आप्नै पार्टीका सरकारविरुद्ध चर्को रुपमा प्रस्तुत भएका भीम रावलको पछिल्लो क्रियाकलाप हेर्दा उनी यो सरकारको विरोधमा हात धोएरै लागेको देखिएको छ । सुदूरपश्चिमको नाम भजाएर धेरै पटक आकर्षक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत बन्न सफल भएका उनको यस्तो गतिविधिलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नजिकबाट नियालिरहेको बुझिएको छ ।

रावलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि आफुलाई माइनस गरिएको, अब आफू पार्टी अध्यक्ष र प्रधानममन्त्री बन्न नसक्ने वातावारण बन्दै गएकोले यस विषयलाई उचालेर अघि बढ्ने तयारीमा रहेको आफू निकटका नेताहरुलाई बताउने गरेको स्रोतले उल्लेख गरेको छ । उनले नेकपाका नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापालाई ७ नम्बर प्रदेशमा मुख्यमन्त्री बन्न नदिन समेत ठूलै कसरत गरेको नेकपाकै नेताहरु बताउँछन् ।

हाल नेकपामा सुदूरपश्चिम प्रदेशबाट १९ जना केन्द्रीय सदस्य रहेकोमा झपट रावल र प्रकाश शाह मात्रै उनी निकट देखिएका छन् । पार्टी एकीकरण हुनुअघि नेकपा एमालेमा उपाध्यक्ष रहेका रावल एकीकरणपछि गठन भएको ९ सदस्यीय सचिवालयमा परेका छैनन् । आफ्नै पार्टीको सरकारविरुद्ध यसरी वरिष्ठ नेताले नै खुलेआम रुपमा आन्दोलन गर्ने बताइरहँदा पार्टीले कस्तो निर्णय गर्ला त्यो भने भविष्यले नै बताउनेछ । तराईलाई नेपालबाट अलग राज्य बनाउने अभियानमा लागेका सिके (चन्द्रकान्त) राउतले आफूले अब देश विखण्डनको अभियान छोडेको औपचारिक घोषणा गर्दै सरकारसँग ११ बुँदे सहमति गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।