प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको १३ महिना भइसके पनि उल्लेख्य प्रगति नगरेको गुनासो ब्याप्त छ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै मन्त्रीहरुको कार्यशैलीप्रति व्यापक असन्तुष्टि छ ।दुई तिहाईको समर्थन पाएर अहिलेसम्मकै बलियो सरकार बनेको भए पनि काम कार्वाही भद्रगोल भएका कारणले पनि मन्त्रीहरु फेर्ने चर्चा चल्दै आएको छ ।
पछिल्लो समय नेकपाका दुई मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मन्त्रीहरु फेर्ने सम्बन्धमा चर्चा उठाउँदै आएका छन् । सार्वजनिक रुपले नै मन्त्रीहरु फेर्ने बताउँदै आएका प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसंग निरन्तर यसबारे छलफल गरिरहेको निकट स्रोतले बताएको छ ।
काम फिटिक्कै नगर्ने मन्त्रीहरुलाई विश्राम दिने विषयमा नेकपाभित्रै बढी चर्चा छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसदेखि नागरिकस्तरबाट समेत मन्त्रीहरुको काम कार्वाही गतिलो नभएको भन्दै असन्तुष्टि छ ।
ओलीले भने दुई तिहाइको समर्थन देख्न नचाहनेहरुले आरोप लगाइरहेको भन्दै आएका छन् । पाँच वर्षको सरकार भएकाले भर्खर एक वर्ष हुँदा काम नदेखिएको पनि ओलीको तर्क रहँदै आएको छ । उनले आफू निकटका संचारकर्मीलाई पाँच वर्षे सरकारले सुरुका चार वर्ष मिलाएर खाने र पार्टी संगठित गर्ने अनि अन्तिम एक वर्ष भने पूरै विकासका काम गरेर अर्को पाँच वर्षका लागि जनता रिझाउने बताउँदै आएका छन् ।
मन्त्री हटाउने मापदण्ड
मन्त्रीहरुको काम सन्तोषजनक नभएपछि त्यस्ता मन्त्रीहरु फालिने भएका छन् । कार्यसम्पादनमा समस्या भएपछि ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका हुन् ।प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि ओलीले उनीहरुको विकल्प खोज्न प्रचण्डसँग समेत छलफल अघि बढाएका हुन् ।
एक वर्षमा गरिसक्नु पर्ने काममा उनीहरु असफल देखिएको स्रोतको दावी छ । साउनपछिको कार्यसम्पादन मूल्यांकनका लागि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखामार्फत गरिएको अनलाइन अनुगमनमा अधिकांश मन्त्री असफल भएका थिए ।
अब को फालिएलान् मन्त्रीहरु ?
साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन् ।भूमिसुधार मन्त्री पद्मा अर्याल र कृषिमन्त्री चक्रपाणि खनाल ‘कामै नगर्ने’ को सूचीमा परेका छन्। त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ ।
त्यस्तै खानेपानीमन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजनाअनुसार काम गर्न नसकेको अनुगमनले देखाएको छ । गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुन औसत देखिएका छन्। सञ्चारमन्त्री गोकुल बाँस्कोटा र खेलकुदमन्त्री जगत विश्वकर्माले धेरैजसो योजना सुरु गरेको भए पनि पूरा गरेका छैनन् ।
अनलाइन अनुगमन सुरु भएपछि कार्यसम्पादन मूल्यांकनमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण बिष्ट, कानुनमन्त्री भानुभक्त ढकाल र सामान्य प्रशासन मन्त्री लालबाबु पंडित औषत देखिएका छन् ।
मन्त्री हेरफेरकै क्रममा फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्थान पनि भर्ने योजना रहेको बताइएको छ । सबैभन्दा कमजोर मन्त्री महासेठ र ईश्वर पोखरेल आफ्नै मान्छे भएकाले ओलीलाई हटाउन समस्या हुने देखिएको छ । मन्त्रीहरु नै हेरफेर गर्न खोज्दा पार्टीको पूर्ण एकता पनि टाढिने हो कि भन्नेमा ओली सचेत रहेको बुझिन्छ ।


















प्रतिक्रिया