Logo

प्रमुख समाचार

केपी ओली सरकारको ग्राफिक्स तल घट्दैछ : कांग्रेस सभापति शेरबहादुर देउवा



नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरूलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् ।विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन् ।

देउवाले पार्टीका असन्तुष्ट २०–२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ र भनेर प्रश्न गरेका छन् । ‘२०–२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ र रु यदि सक्छन् भने बोलाएर दखाउन्’, उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरूले बोलाउन सके म फेस गर्न तयार छु ।’

सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरू विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरेका छन् । उनले पार्टीको महाधिवेशन आइरहेकाले मात्रै आफ्नो विरोध गरिरहेको बताए ।

कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने चेतावनी दिएका छन् ।

पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ ।विशेष महाधिवेशनबारे छलफल गर्न जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलमा बुधबारदेखि भेला बोलाएका छन् ।

सभापति देउवाले न्यायपालिकामा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिकभन्दा बाहिर हुनुपर्छ’, उनले भने, ‘न्याय परिषदले न्यायाधीस सिफारिसमा राजनीतिकरण गर्नु हुँदैन ।’

संवैधानिक निकायको नियुक्तिमा सत्तापक्षले एकलौटी गरेको, तर त्यस्तो गर्न नपाइने देउवाको भनाई छ । ‘संवैधानिक परिषदमा आफूले उपस्थित हुन नसक्ने पत्र पठाएको दिन बैठक बसेर संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्‍यो’, उनले भने, ‘कि त मलाई परिषदमा राख्नै हुँदैन थियो । तर राखीसकेपछि पत्राचार गरेर म उपस्थित हुन नसक्ने जानकारी गराउँदासमेत बैठक बस्नु अनुचित हो ।’

यसको विरोधमा कांग्रेस आन्दोलनमा जान बाध्य हुने उनले चेतावनी दिए । ‘प्रमुख प्रतिपक्ष दलले संविधानको रक्षा गर्छ । संविधान उल्लंघन गरेर जान मिल्दैन’, उनले भने, ‘ओलीजीले गरेको गलत निर्णय नसच्चाउने हो भने आन्दोलनको सामना गर्न तयार भए हुन्छ ।’प्रधानमन्त्री केपी ओली सरकारको ग्राफिक्स तल घट्दै गएको देउवाको आरोप छ । उनले अहिलेको सरकार एकलौटी ढंगले मनोमानी र नराम्रा काम गरिरहेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ०३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।