तनाबै तनावकाबीच आकष्मिकरुपमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हेडक्वार्टर बैठक सकिएको छ । बैठकका क्रमामा नेकपाले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ।
प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो।
आगामी २० गते शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी छ । नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा नेताहरुले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा–पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए।
आगामी शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ। त्यसपछि सरकारले सोही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ। संविधान अनुसार आगामी जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ। संघीय संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ।
बैठकमा पार्टी एकताका अपुरा कामका विषयमा सामान्य छलफल मात्र भएको नेताहरुले बताएका छन् । आजको बैठक सरकारको आगामी नीति तथा कार्यक्रममा केन्द्रित भएको र अर्को बैठकमा पार्टी एकतालाई पुरा गर्नेगरि छलफल हुने एक नेताले बताए ।
बैठकमा पार्टी महासचिव विष्णु पौडेलको बालुवाटार जग्गा खरिद प्रकरणबारे कुनै गम्भीर निर्णय नभएपछि नेकपाका तल्लोस्तरका नेता कार्यकर्ता छक्क परेका छन ।
यसैबीच पार्टी बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा छलफल सुरु भएको थियो ।
यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत अन्य नेताहरुसँग अनौपचारिक परामर्श गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक बैठकमा नेताहरुले संविधान, पार्टीको चुनाव घोषणा पत्र र राजनीतिक परिवर्तनको आकांक्षा अनुकूल हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्ने सुझाव दिएका थिए ।
रक्षा मन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘पार्टी महासचिव पौडेललाई बालुवाटारको जग्गा प्रकरणमा मुछिएको छ, पार्टीलाई पनि मुछ्ने काम भएको छ’ पोखरेलले भनेका थिए, ‘उहाँलाई मात्र किन एक्लो पार्ने ?’ भन्दै महासचिव पौडेलको बचाउ गरे ।
बैठकमा प्रधानमन्त्री निवास बालुवाटारको जग्गाको विषयमा समेत नेकपा नेताहरुबीच अनौपचारिक तबरमा छलफल भएको थियो । त्यसपछि नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि यस विषयमा बोलेका थिए ।


















प्रतिक्रिया