Logo

प्रमुख समाचार

कांग्रेसका जनसम्पर्क समितिका अधिवेशन स्थगित



नेतृत्व र सदस्यतासहितका विवादले केही देशका जनसम्पर्क समितिहरुमा विवाद भएपछि कांग्रेसले ३२ वटै देशका समितिको अधिवेशन स्थगित गरेको छ । अब समितिहरुले क्रियाशील सदस्यताको सूची पार्टी केन्द्रमा पठाएपछि मात्रै अधिवेशन गर्न पाउने भएका छन् ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले अधिवेशन स्थगित गरी जागरण अभियानमा केन्द्रीत हुन सर्कुलर पठाउने निर्णय गरेको हो । कम्तिमा एकदेखि डेढ महिनासम्ममा सदस्यतासहितका विवाद मिलाएर सदस्यताको सूची केन्द्रमा पठाउन कांग्रेस केन्द्रले सर्कुलर गर्ने तयारी गरेको छ । ‘३२ देशमध्ये केही देशमा नेतृत्वदेखि सदस्यतासम्मको विवाद छ, त्यसैले विवादका बीच अधिवेशन नगर्न पार्टीले सर्कुलर पठाउने तयारी गरेको छ’ कांग्रेस स्रोतले भन्यो, ‘अब सबै जनसम्पर्क समितिहरुले अधिवेशन स्थगित गरी २५ वैशाखदेखि हुने जागरण अभियानका केन्द्रीत हुनुपर्ने छ ।’

अब सबै समितिहरुले विवादरहित सूची कांग्रेसको केन्द्रीय कार्यालयमा पठाएपछि मात्रै उनीहरुले अधिवेशन गर्न पाउने जानकारी कांग्रेस स्रोतले दिएकाे छ । समितिमा क्रियाशील सदस्य नै अधिवेशनमा भोटर हुन्छ । तर, कांग्रेसको गुटगत छायाँबाट जनसम्पर्क समितिहरु सबैभन्दा बढी विवादमा पर्ने गरेका छन् । पार्टी केन्द्रबाटै गएका प्रतिनिधिले पनि समितिहरुलाई विवादमा पार्ने गरेको आरोप लाग्ने गर्छ ।

भारत, अमेरिका, जापान, बेल्जियसहितका देशका समितिहरु प्रायः विवादमा पर्ने गर्छन् । जागरण अभियानअन्तर्गत जनसम्पर्क समितिहरुलाई कांग्रेसले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न सर्वोच्चले गरेको फैसलाको कार्यान्वयन गराउन नियोगमार्फत दबाब दिने भनेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १५:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।