Logo

प्रमुख समाचार

नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन : सभापति शेरबहादुर देउवा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्रै भएको भन्दै आलोचना गरेका छन् ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको जिकिर गरेका हुन् । ‘केही पनि नयाँ कुरा छैन, खाली आश्वासनमात्रै छ’ उनले भने । नीति तथा कार्यक्रममा गत वर्षभन्दा कुनै फरक नरहेको देउवाले दावी गरे ।

अर्थविद विश्व पौडेल भन्छन्– नीति तथा कार्यक्रम पुरानै

राष्ट्रपतिले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई अर्थविदले ‘गत वर्षकै निरन्तरता’ भनेका छन् ।

अर्थविद् डा. विश्व पौडेलले अनलाइनखबरसँग कुरा गर्दै सरकारको नीति तथा कार्यक्रम गत वर्षकै जस्तो लागेको बताए । आगामी नीति प्रस्तुत गर्नुभन्दा पनि सरकारले मनमा लागेको कुरा व्यक्त गरेको पौडेलले बताए ।

अर्थविद् डा. पौडेलको प्रतिक्रिया उनकै शब्दमा–

राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गत वर्षको जस्तै लाग्यो । सामाजिक सुरक्षा भत्ता बृद्धि हुने भयो यो प्रस्ट छ ।

सरकारले आगामी वर्ष सम्पन्न गर्न सक्ने काम र मनमा लागेको कुरा मिसमास भएर आए जस्तो लाग्यो । यो–यो नीति हो र यो–यो कार्यक्रम हो भनेर छुट्याइदिएको भए हाम्रो हुन्थ्यो ।

जस्तो– अनुसन्धान र अभियोजनमा संलग्न जनशक्तिको क्षमता बृद्धि गर्ने भनिएको छ । यो तत्काल गरिने कार्यक्रम हो की नीति मात्रै हो भनेर बुझ्न सकिदैन ।

नवलपरासीमो धौवादीमा रहेको फलाम खानी उत्खनन् गर्ने भनिएको छ । त्यस्तै सुनखानी र पेट्रोलको अध्ययन गरेर उत्खनन् गर्ने भनिएको छ । तर यसका लागि आवश्यक क्षमता हामीसँग छ कि छैन भन्ने विषयमा नीति तथा कार्यक्रम मौन छ ।

आवश्यकता अनुसार सगरमाथा संवाद आयोजना गर्ने भनिएको छ । त्यो आयोजना के हो भन्ने विषयमा प्रष्ट छैन ।

डीपीआर बनिसकेका आयोजनाहरूको विषयमा उल्लेख छैन । बरु डीपीआर नबनेका आयोजनामा जोड दिएको देखिन्छ ।

यो नीति तथा कार्यक्रम अनुसारकै बजेट बन्यो भने आगामी वर्ष पनि सरकारले जनतामा उत्साह जगाउन सक्छजस्तो लाग्दैन । गत वर्षजस्तै आउँदो वर्ष खेर नजाओस् भन्नेमा सचेत हुन आवश्यक छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १४:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।