केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भाषाको विवाद दिनानुदिन चर्किदो छ । बोलीमा लगाम लगाउन नसक्दा स्वयं ओली नै अप्ठेरोमा पर्दै आएका छन् । मन्त्रीहरुमा पनि त्यो समस्या छ । यही भाषाले मन्त्रीका जागिर नै गएका छन् ।
कानुन मन्त्री भएका बेलामा शेरबहादुर तामाङ्गले जागिरबाट हात धुनुपर्यो । उनले बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंको बहकाउमा लागेर बंगलादेशबाट मेडिकल सर्टिफिकेट लिन नेपाली छात्राले अस्मिता बेच्नुपर्ने बताएका थिए । त्यसपछि उनको चर्को विरोध भयो र उनले जागिरबाट हात धुनुपर्यो । उनलाई हटाउन नेकपाकै नेता तथा कार्यकर्ता लागेका थिए ।
अहिले पालो आएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको । उनी आशा गरिएका मन्त्री । युवा उत्साह थप्न अग्रसर मन्त्री । प्रतिपक्षले पनि आशा गरेका मन्त्री । पहिलो पटक मन्त्री भएका उनले संयमित भएरै अगाडि बढ्दै थिए । तर कुर्सीमा बसेको डेढ महिनामै उनले भाषा बिगारे ।
शनिबार उनी धनगढीबाट काठमाडौं आउने क्रममा भएको घटना, त्यसपछि उनले लेखेका भाषा र उनका पीएले लेखेको भाषाले तरंग ल्याएको छ । नेकपाका नेता तथा कार्यकर्ताहरु उनको बचाउमा लाग्दै गर्दा यस्तो घटनाप्रति सचेत हुन आग्रह गर्नेलाई धम्की दिन थालेका छन् । उनका पिए प्रेम गुरागाईँले त जनतालाई कुकुरसम्म भनेका छन् । यही भाषाका कारण मन्त्री भट्टराईको जागिर जाने त हैन ?
योगेश ओलीका विरोधी मानिन्छन्
योगेश भट्टराई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका विरोधी मानिन्छन् । अहिले विकल्प नदेखेपछि माधवकुमार नेपाल पक्षका भट्टराईलाई ओलीले मन्त्री बनाएका हुन् । उनलाई चुनावी प्रचारका बेलामा ओलीले मतदातालाई भनेका थिए – जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो । डेढ वर्ष झुलाएर उनले भट्टराईलाई मन्त्री बनाउनुको पछाडि भट्टराईप्रति दया जागेर नभई माधव नेपाललाई एकताका लागि फकाउन गरिएको षड्यन्त्र भएको नेकपाकै नेताहरु बताउँछन् ।
भट्टराई मीठो तर्क गर्छन् । अनि ओलीका विकृतिविरुद्ध लड्छन् । संस्कृति मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उनको ठाउँमा भट्टराई ल्याइएका हुन् । यदि भट्टराई समाजबाट आलोचनाको पात्र बने भने त्यही बहानामा ओलीले हटाउन सक्ने सम्भावना पनि देखिन्छ ।


















प्रतिक्रिया