Logo

टिप्पणी

रामचन्द्र नै पार्टी हो भन्ने महासचिव शाही त्यतिबेलादेखि नै अवैध



नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले पाएको पद पनि वैध होइन । ३ वर्षअघि पोखरामा महाधिवेशन हुने भनेर तयारी भएपछि अन्तिममा नेपाली कांग्रेसका ४ जना नेताले आफ्नो भागवण्डामा कमिटी बनाएका थिए ।भूपेन्द्र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट जितजंग बस्नेतलाई अध्यक्षको टिको लगाइदिए । अर्का नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि १-१ जना भाग पाएका छन् ।

३ वर्ष बितिसक्दा पनि न त तरुण दलको कतै कार्यक्रम भएको छ न त यसले पूर्णता नै पायो । भागवण्डामा आएका ४ जनाले पनि कहिल्यै समितिलाई पूर्ण बनाइयोस् भन्ने माग गरेनन् । ९५ जनाको केन्द्रीय समिति ४ जनामा सिमित रहँदा तरुण दल ‘मरेतुल्य’ भएको छ ।केही दिनअघि अध्यक्ष बस्नेतले महासचिव शाहीलाई दलको विधान विपरीत काम गरेको भन्दै पदबाट हटाए । त्यतिबेला नै जोसिएर शाहीले पनि अध्यक्ष बस्नेतलाई कारवाही गरेको विज्ञप्ती निकाले ।

एकले अर्कालाई आरोप लगाउँदै उनीहरु कमजोर भइसकेका छन् । शाहीले आफूले राम्रो काम गर्दै गरेको र अध्यक्षले सहन नसकेर पनि आफूमाथि कारवाही गरेको भन्न पनि भ्याएका छन् । देशमा घटेका विभिन्न विषयबस्तुमाथि आफूले आन्दोलन गरौं भनेर भनेपनि अध्यक्षले नमानेको शाहीको आरोप छ ।

शाही नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष हुन् । उनी पार्टीको विचार राख्न सक्छन् र आफ्नो लेखनबाट पार्टीको धारणा पुर्‍याउन पनि सक्छन् । उनी २०७० र २०७४ सालमा भएको संविधानसभाको र प्रतिनिधिसभाको निर्वाचनमा कालिकोटबाट पराजित भएका थिए ।

काठमाडौं बस्ने र नेताको पछि लागेर टिकट लिने भनेर उनलाई कालिकोटका पुराना कांग्रेसीहरुले आरोप लगाउँदै आएका छन् । नभन्दै उनी पार्टीभन्दा पनि रामचन्द्र पौडेलको मात्र बढी माया गर्छन्, पार्टीभन्दा पनि गुट बन्नुपर्छ भन्ने सानो विचारले उनलाई क्रमशः कमजोर बनाउँदै लगेको छ । रामचन्द्र पार्टीगत रुपमा मात्र नभएर जनताका नजरमा समेत कमजोर भएका छन् तर गुटको नेतृत्व गरेका उनको नाम बेचेर धेरैले फाइदा लिएपनि उनलाई भने पत्तो छैन ।

रामचन्द्र देउवासँग मागिरहन्छन्, देउवासँग सभापतिमा हारेका उनले पार्टीमा ४० प्रतिशत भागवण्डा पाउनु अधिकार हो भनेर सधैं देउवासँग किचकिच गरिरहन्छन् । पाएपछि जे पद पनि लिइहाल्ने पाराले उनी अहिले आलोचित भएका छन् ।

तरुण दलको महाधिवेशनमा अध्यक्षको दावी गर्दै डडेलधुराका नेता कर्णबहादुर मल्लले पहिलेदेखि नै तयारी गरेका थिए । तर अन्तिममा टिके प्रथा भएपछि उनी पनि निराश भए ।

मल्लले आफ्नो जित हुने निश्चित भएकाले महाधिवेशन नगरेको भन्दै अझैसम्म नेतृत्वको आलोचना गर्दै आएका छन् । डडेलधुरा सभापति मल्ल अहिले सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता हुन् । उनीसहित ४ जनाले मात्र यो प्रदेशमा निर्वाचन जितेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार ०८:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।