भारतको अर्थतन्त्रमा गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा यस्तो गिरावट आएको हो । यो भारतको अर्थतन्त्रमा विगत ४० वर्षयता धेरै गिरावट हो ।
भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ ।
कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९ दशमलव ३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।
साथै निर्माण क्षेत्रमा ५० दशमलव ३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३ दशमलव ३ प्रतिशतमा सीमित भएको छ । विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् ।
हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो ।


















प्रतिक्रिया