Logo

प्रमुख समाचार

सरकारले विप्लवका असन्तृष्टि सम्बोधन गर्न नसके विद्रोह हुन्छ : बाबुराम भट्टराई



पूर्व प्रधानमन्त्री एबम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले विप्लव समूहका असन्तुष्टिहरुलाई चाडै सम्बोधन गर्न नसके देशमा द्वन्द हुने बताएका छन् । भट्टराई विप्लवले पछिल्लो समय देशमा कुशासन र भ्रष्टाचार गरिरहेको बतउदै यसलाई चाडो नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार विहान सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसंग कुरा गर्दै बाबुरामले यस्तो बताएका हुन् । ‘जनताको चाहना अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीको अवस्था सृजना गरिएन भने जनतामा विभिन्न खाले असन्तुष्टि पैदा हुन्छ। यो संसारमै पनि देखिन्छ। नेपालमा पनि यसको उदाहरण छ,’ भट्टरार्ईले भने, ‘विप्लव समूह पनि असन्तुष्टिपछिको विद्रोहको एउटा प्रतिक हो।’

दुईतिहाईको बहुमत प्राप्त सरकारले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर देशको साधनस्रोतका प्रयोग गरी तिब्र आर्थिक विकास र समृद्धी ल्याउनुपर्ने तथा बेरोजगारलाई रोजगार र सबैलाई सामाजिक न्यायको प्रत्याभुती दिलाउन सकेमात्र यस्ता विद्रोहको औचित्य समाप्त हुने र सेलाएर जान सक्ने भन्दै उनले भने, ‘तर सरकारले काम गर्न सकेन र भ्रष्टाचार कायमै रह्यो भने यस्ता असन्तुष्टिहरुले विद्रोहको रुप लिन सक्छ।’

उनले विप्लव समूहको विषयलाई सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने बताउँदै उनीहरुसँग पनि सरकारलाई वार्ता गर्न सुझाव दिएका थिए। भ्रष्टाचार नेपालमा गम्भिर समस्याको रुपमा देखिएको बताउँदै भट्टरार्ईले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कमजोर भएको दाबी गरे।

‘क्यान्सरको उपचार झारफुक गरेर हुँदैन। अप्रेसन नै गर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कमजोर भए, कार्यपालिका लाचार छायाँ जस्तै भए।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गर्नुपर्ने बताए।

‘अधिकार सम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गरी उनीहरु सिधै निर्वाचित प्रतिनिधी सभाप्रति उत्तरदायी भएर कार्यपालिका र न्यायपालिकामा जो जसले भ्रष्टाचार गर्छ त्यसलाई सिधै कारवाही गर्न सक्छन्,’ उनले भने, ‘त्यसो हो भने, भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ। नभए गाह्रो छ। बेलैमा नियन्त्रण गर्न सकिएन् भने भ्रष्टाचारले नेपालको अर्थतन्त्रलाई धारासायी बनाउँछ।’

वर्तमान सरकार काण्डैकाण्डमा फसेको पूर्व प्रधानमन्त्री भट्टराईको आरोप छ। उनले भने, ‘अहिलेको सरकार एनसेल काण्ड, वाइडबडी काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड लगायतका काण्डैकाण्डमा फसेको छ। जसले देशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको छ।’

सरकार असफल हुँदै गएको दावी गर्दे उनले सरकारले विकास खर्च पनि गर्न नसक्ने र राजश्व पनि अपेक्षा अनुरुप उठाउन नसक्ने भनेर आफ्नो कमजोरी सावित गरिसकेको बताए। भट्टरार्ईले पछिल्लो समय वैदेशिक लगानी घटेको, व्यापार घाटा बढेको जस्ता कार्यले देश उल्टो गतिमा गईरहेको प्रष्ट भएको बताए।

पृथकतावादी आन्दोलन गरिरहेका सिके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरकिा विषयमा सरकारले दोहोरो चरित्र देखाएको उनले आरोप लगाए। सिके राउतलाई सरकारले सेटिङ गरेर रिहा गरेको आरोप लगाउँदै उनले भने, ‘पृथकतावादी आन्दोलन गर्नेलाई सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गरेकालाई आजीवन कारावास हुने ?’

उनले टिकापुरमा सुरक्षाकर्मी मारिनु दुखद भएपनि टिकापुर घटना राजनीतिक विद्रोह भएकाले सोही अनुरुप व्यवहार हुनुपर्ने धारणा राखे।

संविधानमा रहेको अपूर्णतालाई सम्बोधन गरी संसोधन गर्न सरकार असफल रहेको बताउँदै भट्टरार्ईले संविधान संशोधन नगरेसम्म असन्तुष्टि कायमै रहने बताए। संविधानमै रहेको अपूर्णताका कारण तराई–मधेश र जनजाती बाहुल्य क्षेत्रमा असन्तुष्टि कायमै रहेको बताउँदै उनले भने, ‘मैले पहिला नै भनेको थिएँ यो संविधान आधा गिलास भरेको आधा गिलास खाली जस्तै छ। त्यसैले अब खाली आधा गिलास पनि भरिनुपर्छ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार ०६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।