तीन जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा भारतीय ट्रकले समेत नागरिकको ज्यान लिएको छ ।
प्रहरीका अनुसार कपिलवस्तु, बाणगंगा नगरपालिका–१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु.३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारुको जयन गएको हो ।
सोही दुर्घटनामा घाइते सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको पनि सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ । घाइते ३ जनालाई उद्धार गरी उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको छ ।
त्यस्तै सर्लाही, बागमती नगरपालिका वडा नम्बर ८ गिरिटोलस्थित सडकमा बा.३१ प ६८०२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय पैदलयात्री ईन्द्रबहादुर कुशवारको एडभांस संजिवनि अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, कालिका नगरपालिका–७ गैडाखोलास्थित सडकमा भएको दुर्घटनामा ना.४१ प ९८४९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय बिकाश श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनले चलाइरहेको मोटर साइललाई शनिबार राति ना.३ त १३३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चालक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय मुकेस पौडेलको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैगरी चितवनकाे राप्ती नगरपालिका–४ मार्तल पुलस्थित पूर्वपश्चिम राजमार्गमा युपी २१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकले ना.१२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सरोज तामाङको ज्यान गएको छ ।
चालक तामाङ राप्ती नगरपालिका–६ का बासिन्दा २५ वर्षका रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया