विप्लव नेकपाका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र ‘मनिष’ र सदस्य टीका पोखरेललाई प्रहरीले गिरफ्तार गरेको छ । दुवै जनालाई सोमबार दिउँसो झापा सोमबार बिहान १० बजेतिर बाट गिरफ्तार गरेको जिल्ला ईन्चार्ज अनुले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएकी छन् ।
मिश्र मेची–कोशी ब्यूरो सदस्य र पोखरेल मजदुर संगठनका ब्यूरो सदस्य समेत रहेको विज्ञप्तिमा जनाइएको छ ।
नेता पोखरेल र मिश्रलाई पार्टी संगठनको काममा खटिरहेको बेला झुटा आरोपमा गिरफ्तार गरेको भन्दै निन्दा र भत्र्सना गरेकी छन् । साथै ईन्चार्ज अनुले दुवै जनालाई निसर्त तत्काल रिहा गर्न सरकारसँग विज्ञाप्तिमार्फत माग गरेकी छन् । रिहाई नगरिए पार्टीले मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएकी छिन् ।
पार्टीका समर्थक र शुभचिन्तकहरुलाई जनदमनबाट भयवित नहुन पनि उनले आग्रह गर्दै दलालहरुको पराजय र जनताको जित सुुनिश्चित रहेको उल्लेख गरेकी छन् ।
जेलभित्र रहँदा पनि बाहिरको मुद्दा
त्यस्तै विप्लव नेकपाका मोरङ जिल्ला ईन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्ज्वल’ र सदस्य सूर्य खडका ‘रमेश’विरुद्ध विष्फोटको मुद्दा लगाइएको छ ।
श्रेष्ठलाई गत चैत १३ गते र खडकालाई १२ गते मोरङको सुन्दरहरैचाबाट गिरफ्तार गरेको थियो । त्यससँगै दुई दिनपहिले चैत १० गते सोही ठाउँबाट गिरफ्तार परेका थिए मेची–कोशी ब्यूरो संयोजक ओखलढूंगाका घनश्याम श्रेष्ठ ‘पुष्कर’ र ब्यूरो सदस्य काभ्रेका चौंरीका माधव गौतम ‘आकाश’ । उनीहरुमाथि हातहतियार तथा खरखजाना, र संगठित अपराधको मुद्दा चलाइएको थियो । सोही अभियोगमा जिल्ला अदालत सुनसरीले जनही ५० हजार धरौटीमा रिहा गर्न आदेश दियो । धरौटी रकम बुझाएनन् । त्यसपछि अदालतले सोही दिन बैशाख १७ गते सुनसरीको झुम्का जेल पठायो । १२० दिनपछि धरौटी रकम बुझाएर चारै जना भदौ ९ गते छुटेका थिए । तर छुटेलगत्तै गिरफ्तार गरी संखुवासभा लगियो ।
उनीहरुलाई संखुवासभाको विवादास्पद अरुण ३ मा भएको विष्फोट र आगजनीमा अनुसन्धान गर्न दुई हप्ताअघि संखुवासभा प्रहरीले गिरफ्तार गरिलगेकोमा त्यहाँको अदालतले भदौ १६ मा निर्दोष ठहर गर्दै चारै जनालाई सफाई दिई साधारण तारेखमा रिहा गर्यो । तर लगत्तै गिरफ्तार गरी गत हप्ता खडका र श्रेष्ठलाई पुनः सुनसरी जिल्ला प्रहरीमा पुर्याइयो । त्यसरी पुर्याइएका दुवै जनाविरुद्ध झुम्का कारागारमा रहँदाको समयमा पार्टीले आयोजना गरेको नेपाल बन्द बेलाको विष्फोटसँग जोडेर मुद्दा चलाइएको परिवारले जनाएको छ ।
प्रहरीसँगको ‘मुठभेड’मा जेठ ७ गते भोजपुरको जंगलमा पार्टीनिकट युवा संगठनका नेता तीर्थराज घिमिरेको ज्यान गयो र पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गर्यो । बन्दको दिन अर्थात जेठ १३ गते बिहान विराटनगर–धरान राजमार्गस्थित सुनसरी उपमहानगरपालिका–३ पानीपिया ट्यांकीस्थित सडकमा बम फेला परेको भन्दै सोही घटनामा दोषी बनाई विष्फोटक पदार्थको मुद्दा चलाइएको छ ।
संखुवासभाबाट रिहालगत्तै पुष्करलाई ओखलढुंगा र गौतमलाई तेह्रथुम प्रहरीले गिरफ्तार गरी लगेको थियो । दुवै जना संगठित अपराधको मुद्दा खेपिरहेका छन् ।
यता प्रज्वल र रमेशलाई प्रहरीले बिनाकारण गैरन्यायिक ढंगले गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै परिवारका सदस्यले रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका छन् । सोही रिटमाथि बहस गराउन गिरफ्तारको लिखित कारणसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले भदौ २५ मा दिएकाे प्रारम्भिक आदेशपछि रमेश र प्रज्वल चार दिनदेखि काठमाडौं प्रहरी हिरासतमा छन् । दुवै जनालाई अहिले सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको छ ।
प्रज्वल नेपाल पत्रकार महासंघका पार्सद समेत हुन् । प्रज्वल र पुष्कर दुवै जना जनयुद्धकालीन संचारकर्मी हुन् भने शान्ति प्रक्रियापछि काठमाडौंमा संचालित रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा प्रमुख संचालक तथा अध्यक्ष रहेर काम गरिसकेका छन् ।


















प्रतिक्रिया