Logo

माघ १९ सम्झाउने पुस ५



माघ १९ गते नेपालको राजनीतिक पात्रोमा स्मरण आइरहने दिन हो । जननिर्वाचित सरकारलाई राजाले अपदस्थ गरी शासन सत्ता हातमा लिएको क्षणका रुपमा यो दिनको स्मरण गरिन्छ । राजा समर्थकले यसलाई शुभसाइत मान्छन भने राजनीतिक दलहरुले निरंकुशता उदाएको कालो दिन ठान्छन् । विश्लेषण र व्याख्यामा आआफ्नै लाभ हानीका हिसाव होलान । तर राजनीतिमा खेलिने यसखाले बाघचालबाट जनताको जीत भो या हार रु वस्तुगत निचोड त्यहाँबाट निकाल्नु बाञ्छनीय हुन्छ । 

कोतपर्व, भण्डारखाल पर्वजस्ता विरोधी सिध्याउने, आफ्ना उकास्ने खेलले राणातन्त्र सकियो । ०७ सालले ल्याएको राजनीतिक परिवर्तनपछि भित्रिएको अराजकतापछि अनपेक्षित पात्र देशको चुलोचौको सम्हाल्न पुगे । त्यसपछि राजनीति केही सङलिएर चुनाव भयो । कांग्रेसले दुई तिहाइको सरकार बनायो । यो सरकारको आयु दुई वर्ष पनि भएन । राजा महेन्द्रले लोकतन्त्र मासेर पञ्चायत रोपे । पञ्चायत पनि राजाको सपनाअनुसार चलेन । पञ्चायतसंगै स्वार्थको झुसिलकिरा बनेका पञ्चले भित्रभित्रै पञ्चायती व्यवस्था खोक्रो बनाए ।

पञ्चायतको तीन दशकपछि जनआन्दोलनका बलमा बहुदल आयो । एकाध वर्षपछि शक्तिको लुछाचुँडीमा बहुदलका अवयवमा खिया लागे । पञ्चलाई मिल्काएर ल्याइएको बहुदलमा पञ्चकै रजाइँ चल्न थाल्यो । काँग्रेस, कम्युनिष्टमा तेजोबधको राजनीति हावी भयो । दलभित्र थुप्रै दल खडा भए ।

यही मौकामा माओवादी जन्मियो । उसले मांसआहारको राजनीति बढायो । यही मौकामा समूल राजपरिवारको हत्या भयो । वीरेन्द्र राजाको सन्तान नासियो । त्यसपछि फास्टट्रयाकबाट ज्ञानेन्द्र सत्तामा उदाए । उनको सत्ता आरोहण फगत रहरमै ओइल्यायो । सत्तामा उदाउन खोजेको माओवादी र शक्तिहीन राजनीतिक दलबीच राजा मिल्काउने सहमति भयो । गणतन्त्र आयो ।

संविधानसभामार्फत दुईपटकको प्रयाशमा संविधान पनि बन्यो । दुई कम्युनिष्ट पार्टी एकाकार भएर झण्डै दुई तिहाइको जनमतपछि सरकार बन्यो । नेपालको समृद्धिलाई पहिलो एजेण्डा बनाइयो । यी सबै राजनीतिक उहापोहले जनताको सपनामा आगो लगाउने काम मात्र गर्यो । सत्ता र शक्तिको उन्मादले नेताहरु विचलित भए । त्यही विचलनलाई लोकतन्त्रको अभ्यास भनियो । विधिको शासन द्रौपदीको सारीजस्तै बन्यो । सारी तान्ने कौरव थुप्रै निस्किए तर कपडा थप्ने कृष्ण कोही उदाएनन । राजा र राणाका त्यही कदमलाई निरंकुशता भनियो, नेताहरुले गरेको त्यही दुष्कर्मलाई सत्कर्मको पदवी भिराइयो । लोकतन्त्रको मुटु मानिने संसदलाई त्यही संसदको मुखिया मानिने प्रधानमन्त्रीले पटक पटक चक्कु प्रहार गरे । 

माघ १९ र पुस ५
खरानीका लागि घरमा आगो लगाउने यो कामलाई लोकतन्त्रको रक्षार्थ गरिएको अभ्यास भनियो । स्वार्थको लडाईंले विभाजित दलका गुटहरुले व्यक्तिपूजाको तुच्छ खेललाई लोकतन्त्रको सौन्दर्य भने । लोकतन्त्र अन्धाले छामेको हात्तीजस्तो भयो । 

समकालीन विश्वकै लोकतन्त्र सन्की शासकका कारण संकटमा छ । माघ १९ को स्मरणसंगै नेपालसंग निकट राजनीतिक सम्बन्ध रहेको बर्मा सैनिक ‘कू’ को मझधारमा फसेको छ । नेताहरु नजरबन्दमा छन् । विश्वका शक्तिशाली मुलुकहरु ‘म नै राज्य हुँ’ भन्ने जस्ता सन्की तानाशाहको शासन खेप्न बाध्य छन् । मुलुकभन्दा माथि आफ्नो नाम राख्ने लोभ उनीहरुमा छ । नेपालका प्रधानमन्त्रीका कतिपय गतिविधिले त्यो झल्को दिन्छ । राजनीतिशास्त्र भन्छ-जनता गलत हुँदैन । 

वास्तवमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । नेताहरुको अयोग्यतालाई लोकतन्त्रको भविष्य जोडेर हेर्नु नै गलत प्रवृत्ति हो । माउ माकुरोबाट बच्चा माकुरो जोगाउन सकस परेजस्तै नेताबाट लोकतन्त्र  जोगाउनु अहिलेको चुनौती हो ।

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।