Logo

अन्तर्वार्ता

नैतिकतामा खडेरी परेका ओलीबाट नैतिकता खोज्नु नै मूर्खता 



विद्यार्थी राजनीतिबाट खारिएका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ नेपाली कांग्रेस सांसद् हुन् । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा जन्मिएका उनी सालिन नेताको रुपमा परिचित छन् । जनताका पक्षमा सधैं आवाज बुलन्द गर्ने उनी स्पष्ट वक्ता मानिन्छन् । सरकारका कमीकमजोरीलाई नजिकबाट नियालिरहेका उनले प्रधानमन्त्री केपी शर्मा ओली अलोकतान्त्रिक र अधिनायकवादतिर उन्मुख भएको टिप्पणी गरेका छन् । यिनै समसामयिक विषयमा केन्द्रित रहेर सांसद स्नेहीसँग कालिका महतले गरेको कुराकानी : 

नेपाली कांग्रेसका नेताहरु देश दौडाहामा छन्, चुनावको तयारी हो ?

चुनाव प्रचार–प्रसार भन्दा पनि सत्तासीन पार्टीलाई नेपाली जनताले दुई तिहाई हाराहारी बहुमत दिए । सरकारमा पुर्याए । देशमा संघीय सरकार बन्यो । तर, नेकपाबाट ती जनताको विश्वासमाथि ठूलो कुठाराघात भयो । त्यसकारण अहिले आमनेपाली जनताले नेपाली कांग्रेसलाई आशा र भरोसाको केन्द्रमा राखेका छन् । देशैभरबाट अन्य पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने जनलहर चलेको छ । त्यो अनुरुप नै अहिले हामी देशभरि रहेका पार्टीका नेता, कार्यकर्तामाझ गइरहेका छौं । अहिले आम चुनावभन्दा पनि पार्टी महाधिवेशनको तयारीमा बढी केन्द्रित छौं । त्योसँगै पार्टीको पक्षमा जनमत निर्माण गर्ने पनि हाम्रो उद्देश्य हो ।

त्यसो भए तपाईंहरुको देश दौडाहा महाधिवेशन लक्षित कार्यक्रम हो ? 
त्यसलाई महाधिवेशन लक्षित कार्यक्रम भन्दा पनि हुन्छ । त्योसँगै निर्वाचन लक्षित पनि  हो । समग्रमा एक तीर दो निसाना भन्दा बेश होला ।

अब आम निर्वाचन पनि छिट्टै हुने सम्भावना छ हो ?

चुनाव अपरिहार्य भइसकेको छ । किनभने सधैं देश अस्थिरतातिर गयो भनेर नेपाली जनताले नेकपालाई झन्डै दुई तिहाइ हाराहारी बहुमत दिएका थिए । त्यो विश्वास र भरोसालाई नेकपाले कुल्चने काम गर्यो । देशलाई फेरि अस्थिरतातिर  धकेल्ने गरी हंग पार्लियामेन्टको सिस्टमतिर लगियो । उनीहरुबीच आन्तरिक कलह झाँगिदै गएर एकथरि सत्ता र अर्कोथरि सडकमा गएर एकअर्कालाई गालीगलौज गर्ने स्थिति सिर्जना भयो । वैधानिक रुपमा नभए पनि व्यावहारिक रुपमा नेकपा विभाजित भइसकेको छ । झन्डै एक वर्षदेखि सत्तासीन पार्टीले संसद्लाई अनिर्णयको बन्दी बनाएको छ । यस्तो अवस्थामा देशलाई गुमराहमा पार्नुभन्दा सबै दलहरुबीच राष्ट्रिय सहमति गरेर जनताबीच जानु नै राम्रो हुन्छ । 

संसद् पुनस्र्थापनाले संविधानलाई लिकमा ल्याउने काम गरेकाले यसलाई टेकेर निर्वाचनमा जानुपर्छ भन्ने कांग्रेसको लाइन हो ?

हाम्रो संविधानले संसद्बाट संविधान नबन्ने अवस्था भएमा निर्वाचनमा जान सकिन्छ भनेको छ । त्यो त संसद र राजनीतिक दललाई अधिकार छँदैछ । दोस्रो कुरा के भने संसद्भित्र रहेका राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति गरियो भने त सबै दलहरु तयार हुन्छन् । त्यसपछि त निर्वाचनमा जान सकिहालिन्छ नि । नेपाली कांग्रेसले त अहिले जुन राजनीतिक शक्तिहरु छिटोभन्दा छिटो सहमतिबाट निर्वाचनमा जान तयार हुन्छन् , उनीहरुसँग सहकार्य गरेर अगाडि जाँदा राम्रो हुन्छ । 

तपाईं जसरी पछिल्लो समय विभिन्न जिल्लामा गइरहनुभएको छ, ती ठाउँहरुमा कांग्रेसप्रति कत्तिको जनआकर्षण पाउनुभयो ?

भर्खरै सिन्धुली गएँ । त्यहाँ पार्टीका केन्द्रीय नेता गगन थापा, श्याम श्रेष्ठ, डा. डिला सौंग्रौला पनि जानुभएको थियो । कार्यक्रम सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको थियो । त्यहाँ नेकपालगायत अन्य पार्टीबाट कम्तिमा एक हजार हाराहारी नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे । एउटा गाउँपालिकाको कार्यक्रममा एक हजार मान्छे प्रवेश गर्नु चानचुने होइन । त्यस्ता धेरै जिल्लाहरुमा भएको छ । जस्तो इलाम, पाँचथर, ताप्लेजुङ, हेटौँडालगायत धेरै जिल्लामा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्ने लहर देखेको छु । यी सबै दृश्य हेरिरहँदा राजनीतिक स्थायित्व, संघीयता र लोकतन्त्र, समृद्धि र प्रेस स्वतन्त्रताको लागि अब कांग्रेस नै हो भन्ने नेपाली जनतामा छाप परिसकेको छ । यी लगायत मुलुकका जे जति परिवर्तनका विषय छन् , त्यसलाई पनि कांग्रेसले नै परिपूर्ति गर्न सक्छ भन्ने जनमानसमा भइसकेको छ । यसरी देशभरि जनलहर बढिरहेकाले महाधिवेशनको तयारी पनि गर्ने र निर्वाचनलाई पनि सँगै लिएर जाने भनेर कांग्रेस घनिभूत ढंगले लागिपरेको छ । कम्युनिस्ट पार्टीहरुले विभिन्न बहानामा संसद्लाई अनिर्णयको बन्दी बनाइरहने र प्रधानमन्त्रीले पनि साँढे जस्तै मनमौजी बोल्दै हिँड्ने प्रवृत्तिलाई जनताले रुचाएका छैनन् । अब संसद्बाटै राष्ट्रिय सहमति बनाएर निर्वाचनको अगाडि बढ्नुपर्छ । त्यसले मात्रै देशलाई सही निकास दिन्छ भन्ने मेरो धारणा हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गर्नुभएको संसद् पुनर्स्थापना भयो, उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्दैन ?

प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नैतिकताको खडेरी भएको मान्छेमा हामीले नैतिकताको खोजी गर्नु अर्को मूर्खता हुन्छ । उहाँ जस्तो अराजक, असंवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रुपले पतन भइसकेकाको कुरै नगरौं । उहाँ त लोकतन्त्र र लोकतान्त्रिक संविधानलाई मासेर सर्वसत्तावाद लाद्न उन्मुख भइसकेको व्यक्ति हो । संवैधानिक, लोकतान्त्रिक मूल्य र मान्यतालाई पटक–पटक कुल्चेर अगाडि बढेकाले उहाँ राजनीतिक रुपले बहस गर्न योग्य हुनुहुन्न । त्यसैले उहाँका बारेमा बहस गरेर समय खेर फाल्नु उपयुक्त हुँदैन । 

अब बस्ने संसद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछ ?

अविश्वासको प्रस्ताव आउने त उहाँकै पार्टीका माधव नेपाल, प्रचण्डहरुले बाहिर गरेका क्रियाकलापहरुबाट देखिन्छ । हामी पनि हाम्रो पार्टीको केन्द्रीय समिति बसेर निर्णय गरेपछि कसरी अगाडि भन्ने विषय तय हुन्छ । योभन्दा प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो भनेर पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बसेर निर्णय गरेपछि हामी विरोधका कार्यक्रम लिएर बाहिर गएका हौं । अब पनि पार्टीको केन्द्रीय समिति बसेर निर्णय आएपछि मात्रै के गर्ने भन्ने निक्र्योल हुन्छ । 

अहिले नेकपा फुटिसक्यो भनिरहँदा कांग्रेस पनि भित्रभित्रै विभाजन जस्तै गरी भुसको आगो  अझै  सल्किएको छ भनिन्छ नि ?

त्यो त कम्युनिस्टहरुले त्यसमा नेकपाले आफूहरु फुटिसकेपछि नेपाली कांग्रेसलाई लगाउने आरोप मात्र हो । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा आन्तरिक विचार, विमर्श, छलफल, बहस हुन्छन् । गुट, समूह भनेका कुरा विचारका आधारमा, तत्कालीन मुद्दाका आधारमा कसैले कसैका विचार मन पराउलान् । कसैले अर्कोको कुरा मन नपर्ला । फेरि महाधिवेशन संघारमा आइसकेको छ । महाधिवेशनमा बकाईदा चुनाव हुन्छ । त्यसको लागि दुई समूह भइहाल्छ । फेरि नेपाली कांग्रेसमा गुट र समूह भएपनि कम्युनिस्टहरुको जस्तो सडकमा गएर अराजनीतिक ढंगले गाली, गलौज, आरोप प्रत्यारोप गरेर हुँदैन । सडकमै गएर एकले अर्का नेताहरुको मानमर्दन गर्ने, अपमान गर्ने काम कुनै नेताले कसैको गरेको पनि छैन र आइन्दा दिनमा पनि त्यस्तो हुँदैन । महाधिवेशनमा पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ । अहिले हामो पार्टीको महाधिवेशन हुँदैछ । त्यसमा एकअर्का नेताको सम्मान गर्दै स्वस्थ प्रतिपर्धामा चुनाव गराउने हो । नेपालमा मात्रै होइन संसारभरिका लोकतान्त्रिक पार्टीभित्र समूह, गुटहरु हुन्छन् । ती विधानसम्मत र मर्यादित ढंगले अगाडि बढ्छन् । आपसमा विचार, विमर्श र छलफलबाट अगाडि बढ्ने हो । हिजो पनि वीपीको विचारसँग सहमत हुनेहरु उहाँसँग थिए । सुवर्ण शमशेरसँग सहमत हुनेहरु उहाँसँग थिए, किसुनजी र गणेशमानसँग स्वभाव मिल्ने मान्छेहरु उहाँहरुसँग थिए । गिरिजाबाबुसँग स्वभाव मिल्ने मान्छेहरु उहाँसँग थिए । जो नेतासँग बढी जेलमा सँगै बसे, त्यही नेतासँग सामिप्यका आधारमा गुट बन्छन् । कोही विचार र दृष्टिकोणका आधारमा उनका पक्षमा उभिन्छन् । यसरी लोकतान्त्रिक पार्टीभित्र धेरै कारणले गुट र समूहहरु निर्माण भएका हुन्छन् । 

त्यसोभए राष्ट्रिय मुद्दामा कांग्रेस एक ढिक्का छ त ?

राष्ट्रिय मुद्दामा कांग्रेस एक ढिक्का छ । पार्टीलाई देशव्यापी रुपमा एक बनाएर अगाडि बढ्नेमा कांग्रेसमा एकमत छ । महाधिवेशन समयमा गराउन कांग्रेस दत्तचित्त भएर लाग्छ । संविधान जोगाउने, मुलुकलाई समृद्ध बनाउन, मुलुकलाई सुशासन दिलाउन र कानुनी राज्य स्थापना गराउन कांग्रेस एकमत भएर अगाडि बढेको छ । लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन, संघीयतालाई दर्बिलो बनाउन पूर्ण नागरिक अधिकार, प्रेस स्वतन्त्रताका लागि कांग्रेस एक भएर अगाढि बढ्ने छ ।

कांग्रेस सत्तामा जानको लागि अत्तालिएर लागेको छ नि ? 
कांग्रेसलाई सत्तामा कसैले पुर्याएर जाने होइन । वीपीले भन्नुभएको छ, ‘मेरो लागि प्रधानमन्त्री पद खुट्टाको जुत्ता सहर हो ।’ हामी अरुलाई प्रधानमन्त्री, राष्ट्रपति बनाउने पार्टी हो । कम्युनिष्टले बनाएर प्रधानमन्त्री, राष्ट्रपति बन्ने पार्टी हो र ? यी पद हासिल गर्नको लागि नेपाली कांग्रेस आफ्नै राजनीति मुद्दाको आडमा जनतासँग गएर बहुमत लिएर आएर पुग्ने, बन्ने हो । हामी जनताको विश्वास जितेर दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्री, राष्ट्रपति बन्छौं । कथमकदाचित परिबन्दमा परेर नेतृत्व लिनुपर्यो भने त्यो फरक कुरा हो । अहिले नै सत्तामा जानका निम्ति कत्ति पनि उत्साहित छैनौं । अहिले पनि कम्युनिष्ट पार्टी मिलेको हेर्न चाहान्छौं । उहाँहरु जनतासामू लोकप्रिय भएको हेर्न चाहान्छौं । अझ उहाँहरु दुईवटा पार्टी मात्रै होइन विप्लव, वैद्य, चित्रबहादुर केसी, सीपी मैनाली सबै मिल्नुहोस् । त्यसरी मिलेको पार्टीसँग नेपाली कांग्रेस मुकाविला गरेर बहुमत ल्याउन तयार छ । 

सबै कम्युनिष्ट मिलेर आएपनि कांग्रेस छाती फुकाएर चनाव लड्न तयार छ ? 
कम्युनिष्टहरु फुटेका छन् अब हामी जित्छौं भनेर अत्तालिएर हाफपाइन्टमै दौडेर चुनावमा जाँदैनौं । सबै कम्युनिस्ट मिलेर आएपनि उनीहरुसँग मुलुकाबिला गर्ने कांग्रेस हामी बनाउँछौं । त्यो बनाउने कुरामा हामीहरु सक्षम छौं । त्यसैले कम्युनिष्ट पार्टी फुटेको छ भनेर कांग्रेस चुनावमा जान लागेको छैन । सबै मिलेर आए हुन्छ । 
अब कांग्रेसलाई चुनाव जित्न कुनै दलसँग कार्यगत एकता गर्नुपर्ने आवश्यकता छैन् ?
चुनाव जनताको बलमा जितिने हो । अहिले जनताले कांग्रेसप्रति ठूलो आशा भरोसा राखेका छन् । त्यो दिलाउन कांग्रेस तयार छ । लोकतान्त्रिक पार्टी जहिले पनि जनतामा विश्वास गर्दछ । अहिले जनतामा कांग्रेसप्रति आकर्षण बढेको छ । त्यसको सम्बोधन कांग्रेस गर्न सक्छ । 

अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेर आउनेले कस्तो अपेक्षा राखेको पाउनुभयो ? 
हिजो माओवादी जनयुद्धमा लडाकु भएर हिँडेका नेकपाका स्थानीय नेता, कार्यकर्ताहरु पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपाबाट जनप्रतिनिधि भइसकेका साथीहरु पनि हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँहरुले ‘हिजो हामी कम्युनिष्टहरुको भ्रममा पर्यौं, जसरी हिजोका दिनमा हामीलाई कम्युनिष्टका सिद्धान्त, विचार, दृष्टिकोण प्रवाह गरेका थिए, त्यो सत्तामा गएपछि बिर्सिए,’ भन्नुभएको छ । कम्युनिष्टहरु न जनताको परिवर्तनको पक्षमा उभिन सके, न गरिब निमुखाको आवाज मुखरित गर्न सके, न हिजो हामीसँग बोलेका बाचा नै पूरा गर्न सके, न नेताहरुको चरित्र राम्रो देखियो । नेपाली कांग्रेस पार्टीले ‘जे बोल्दो रहेछ, त्यो गर्दोरहेछ र जे गर्दोरहेछ, त्यो बोल्दोरहेछ, जनतालाई भ्रममा नराख्ने पार्टी नेपाली कांग्रेस रहेछ । त्यसैले नेपालको पुरानो ऐहिासिक पार्टी कांग्रेसमा आएका छौं,’ भनेका छन् । 

कुनै लोभलालच बिना निशर्त कांग्रेस प्रवेश गरेका हुन् ? 

उहाँहरु निशर्त ढंगले प्रवेश गर्नुभएको हो । अहिले कांग्रेसले के नै दिन सक्छ र ! अहिले हामी प्रतिपक्षमै छौ । धेरै, गाउँपालिका, नगरपालिका प्रदेश र संघमा पनि हाम्रो प्रतिनिधित्व छैन । त्यसैले बिना लोभलालच राजनीतिक स्थायित्वको लागि कांग्रेसप्रति जनआकर्षण बढेको हो ।

दलित, जनजाति, अल्पसंख्यक, उत्पीडितहरु कम्युनिष्टमा थिए, ती समुदाय कांग्रेसमा किन आए जस्तो लाग्छ ? 
जनयुद्ध होस् या शान्तिपूर्ण आन्दोलनमा नेकपा एमाले र तात्कालीन माओवादी दुईवटा पार्टीले जे–जे मुद्दा दलित, जनजाति, मधेसी, अल्पसंख्यक, उत्पीडित, लैंगिक हिंसा, राजनीतिक, व्यावहारिक, वर्गीय विभेदलगायत विभिन्न नाममा कम्युनिष्टहरुले मुद्दा उठाएका थिए । ती मुद्दा उनीहरु सत्तामा गइसकेपछि छोडेर आफ्नो स्वार्थमा लागे । कम्युनिष्ट एउटा इलिट समुदाय भएर सम्भ्रान्त बन्न थाले । आफैं सामन्त बन्न थाले । त्यसैले कम्युनिष्टहरुले माथि झूठको खेती गरेका रहेछन् भनेर ती समुदाय नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । आज माक्र्स र लेलिन जन्मेको देशमा लोकतन्त्र स्थापित भइसकेको छ । कम्युनिष्ट नेता जन्मेको देशमा त उनीहरुको शासनसत्ता छैन भने उनीहरुको फोटो राखेर नेपालमा राजनीतिक गर्ने नेताले के काम गर्न सक्छन् ? त्यसैले हामी कांग्रेस प्रवेश गरेको भन्ने उनीहरुको भनाइ छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ११:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।