Logo

राजनीति

ओलीविरुद्ध एक होलान त कांग्रेस, माओवादी र जसपा



सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई अवैधानिक ठहर्‍याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको बहुमत गुमेको छ । अब पूर्ववत एमाले र माओवादी केन्द्र बनेका छन् । माओवादी र एमाले मिल्दा बहुमतका प्रधानमन्त्री बनेका ओली माओवादीले समर्थन फिर्ता लिएमा अल्पमतका प्रधानमन्त्री बन्ने छन् ।

माओवादीले यो समाचार तयार पार्दासम्म ओलीलाई दिएको समर्थन फिर्ता त लिएको छैन । तर, ओलीलाई हटाएर नयाँ सरकार बनाउन माओवादी अध्यक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरिसकेका छन् ।

माओवादीको मंगलबार बसेको स्थायी समिति बैठकले गठबन्धन सरकार निर्माणका लागि कांग्रेस, एमाले र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार साँझै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटेर सत्ता समीकरणबारे कुराकानी गरे ।

दुवैसँग मिलेर सरकार बनाउन दाहालले प्रस्ताव गरेको निकटस्थहरुले बताएका छन् । कांग्रेस सभापति देउवालाई दाहालले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै आफूले सहयोग गर्ने बताएका थिए ।  २७५ सदस्य रहेको प्रतिनिधि सभामाबहुमत पुर्‍याउन १३८ सांसद आवश्यक पर्छ । कांग्रेसका २ (विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम) र जसपाका २ (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमा छन् ।

एक सदस्यको निधनभएको छ । कांग्रेस ६१, माओवादी ५३ र जसपा ३२ गरी १४६ पुग्छ । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता एमाले, कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले पाएका छन् । एमाले छाडेर कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको प्रतिनिधि सभामाबहुमत पुग्छ । यदी यी तिन दल मिलेमा ओली सत्ताबाट बाहिर आउने निश्चित हुनेछ । 

यता ओलीले पनि एमाले बाहेक एउटा दललाई मिलाएर सरकार बनाउने प्रयत्न जारी राखेका छन् । तर, दलहरुले प्रतिनिधि सभा विघटन गरेका ओलीलाई सहयोग गर्ने मनसाय देखाएका छैनन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गैर–एमाले गठबन्धन निर्माण गरी आफ्नै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने बताएकाले दाहालको जसरी भएपनि ओलीलाई सत्ताच्यूत गर्ने रणनीति सफल हुने सम्भावना देखिन्छ । कांग्रेसले एमाले पार्टीको परम्परागत प्रतिष्पर्धी पार्टी भन्दै ऊ बाहेकका दललाई साथमा लिएर नयाँ सरकार निर्माण गर्ने तयारीमा लाग्ने बताइसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यएनपी साउदले एमाले बाहेकका प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलहरू समेट्दै कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गर्ने बताए । ‘सर्वोच्चको निर्णयपछि राजनीति गठबन्धन सरकार निर्माणतिर मोडिएको छ । एमाले–कांग्रेसको परम्परागत प्रतिष्पर्धी पार्टी हुन्,’ साउदले भने, ‘तसर्थ,कांग्रेसले ऊ बाहेकका प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूसंग मिलेर सरकार बनाउने प्रयास गर्छ ।’

केन्द्रीय सदस्य गगन थापाले पनि ओली प्रधानमन्त्रीमा निरन्तर नहुँन आवश्यक पर्ने जुनसुकै विकल्प पार्टीले अबलम्बन गर्ने बताउँछन् । ‘हामीले संविधानलाई ट्रयाकमा कसरी ल्याउने र प्रधानमन्त्री ओली कसरी निरन्तर हुँदैन सबै विकल्प खुला राखेर अगाडि बढ्छौ,’ थापाले भने । 

साउदले कांग्रेससँग कि एमालेका साथमा या गैरएमाले गठबन्धन निमार्ण गर्ने विकल्प कांग्रेससँग रहेको तर, पार्टीभित्र गैर एमाले समीकरणमा आधारित सरकार गठन गर्नुपर्छ भन्नेमा बलियो मत रहेको बताए । 

माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीलाई विश्वासको मत लिन ३० दिनको समय संसद्ले दिएपछि दलहरूसँग सत्ता सहकार्यका लागि छलफल अघि बढाउछन् । अभियान टाइम्सका साथमा । 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।