Logo

प्रमुख समाचार

नेपालको अर्थतन्त्र टाट पल्टिन नदिन सरकार गम्भीर बनोस्



लामो गृहयुद्ध भोगे पनि श्रीलंका सम्पन्न देश थियो, आतंकवादी हमला, कोभिडको पर्यटनमा असर तथा बैदेशिक ऋण धेरै भएकोले श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएको छ । अहिले त्यहाँका जनताले अभाव तथा चरम महंगी भोगिरहेका छन् । श्रीलंकाको सञ्चित रकम जम्मा साढे २ अर्ब डलर मात्र छ । यसले एक महिनाको खर्च मात्र धान्नेछ ।
..
नेपाल पनि आर्थिक रुपमा त्यही बाटोमा अग्रसर छ । अहिले हाम्रो सञ्चित रकम साढे ८ अर्ब डलर छ । अहिलेको स्थिति कायम रहे वा पेट्रोलियमको मूल्य बढ्दै गए ७ महिनामा हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो हुनसक्छ । देशमा केही व्यक्ति धनी भएर अर्थतन्त्र बलियो हुँदैन । हाम्रो देशसंग कति डलर छ ? कति विदेशी पैसा छ ? त्यो आधारमा अर्थतन्त्र टाट पल्टिने वा सुदृढ हुने गर्दछ । हाम्रो देशमा संचिती वैदेशिक मुद्रा सकिएमा हामीले औषधि, उद्योगका कच्चा पदार्थ, पेट्रोलियम पदार्थ किन्न सक्ने छैनौ, महंगी र कालाबजारीले अर्थतन्त्र झनै चौपट हुनेछ, अर्थतन्त्र बचाउनको लागि हामीले व्यक्तिगतदेखि सरकारी स्तरबाट कम्तिमा निम्न लिखित काम गर्नुपर्ने हुन्छ ।

१. बिदेशमा नेपालीले कमाएको पैसा बैंक वा मनि ट्रान्सफरमार्फत् मात्र पठाउने । हुण्डीलाई कडा रुपमा बन्द गराउने । कानुनी बाटोबाट पैसा पठाउनेलाई सरकारले सुबिधा र सहुलियत दिने ।

२. पेट्रोलियम खपत घटाउनको लागि हामीले छोटो बाटो पैदल हिँड्ने, साइकल तथा विद्युतीय साधन प्रयोग गर्ने । सरकारले सवारीसाधनको संख्या, दूरी आदि घटाउने योजना लागु गर्ने, देश टाट पल्टने स्थिति आउनुभन्दा व्यक्तिगत सवारीसाधनलाई जोरबिजोर चलाउनु पर्ने हुनसक्छ । आफ्नो बसाइ नजिकको स्कुलमा मात्र पढ्ने व्यवस्था मिलाउने, विद्युतीय सवारीसाधनलाई कर छुट गर्ने, सरकारी साधन विद्युतीय मात्र प्रयोग गर्ने, हप्तामा २ दिन छुट्टी गर्ने, पेट्रोलियम होलिडे जस्ता कार्यक्रम ल्याउने, ग्यासको साटो इन्डक्सन चुल्होको प्रयोग बढाउने, निर्माणाधीन हाइड्रोपावरलाई छिटो सकाएर राष्ट्रिय प्रशारणमा जोड्ने, जति सकिन्छ, बिद्युतको उत्पादन तथा प्रयोग बढाउने ।

३. अत्यावश्यक बस्तुबाहेक आयात रोक्ने, विलासिताका सामग्री, विदेशी मदिरा आयातमा प्रतिवन्ध लगाउने, अन्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, मासु आदि स्वदेशमै सर्कुलेट गर्ने, देशको एक ठाउँमा उत्पादन भएको खाध्य पदार्थ माग भएको अर्को क्षेत्रमा पुर्याउँदा हामीले भान्साको लागि अर्बौं पैसा देशबाहिर पठाउनु पर्दैन, सकभर हामीले स्वदेशी उत्पादन प्रयोग गर्ने, विलासिताका साधनमा उच्च कर लगाउने ।

४. जडिबुटी, चिया, कफी, पस्मिना, हिमाली पानी, लोकल रक्सी, अदुवा, अलैंची, सुपारी आदि जे जे सम्भव हुन्छ– विदेशमा निर्यात गर्ने, यसको लागि बिभिन्न देशसँग सम्झौता गरेर पठाउने व्यवस्था गर्ने ।

५. पर्यटकलाई आकर्षित गर्नको लागि संसारभरका दुतावास, नेपाली संघसंस्था तथा नेपालका शुभेच्छकहरुलाई एक्टिभेट गर्ने, स्वदेश आएका पर्यटकको खर्च वृद्धि तथा बसाइ लम्ब्याउने बाताबरण सिर्जना गर्ने ।

६. वैदेशिक लगानी तथा सहयोगलाई आकर्षित गर्ने, देश र समाजलाई लगानीमैत्री बनाउने, अनावश्यक कुरामा राजनीति नगर्ने ।

७. व्यापारघाटालाई घटाउँदै लैजाने, अन्यथा हामीले त्यो घाटाको ब्याज तिर्न नसक्दा अर्थतन्त्र फेलियर हुनसक्छ, हाम्रा आयोजना सकभर हामीले नै निर्माण गर्ने ।

८. स्वदेशमै बिभिन्न प्राबिधिक बिषय पढ्ने वातावरण बनाउने, मेडिकल लगायत बिषय पढ्नको लागि विदेश जाँदा अर्बौं रुपियाँ बाहिर गइरहेको छ, त्यसको साटो यहाँ गुणस्तरीय पढाइ संचालन गरेमा बिदेशी बिद्यार्थी नेपाल आएर पढ्न सक्छन् ।
९.स्वदेशमै उपचार गर्ने परिपाटी मिलाउने, नेपालमा दाँत लगायत अन्य उपचार विदेशको तुलनामा निकै सस्तो छ, त्यस्तै योग, आयुर्बेद, ध्यान लगायतका गुणस्तरीय केन्द्र खोलेर हेल्थ टुरिजम बढाउन सकिन्छ ।

१०. अर्थतन्त्र ट्रयाकमा आउने बेलासम्म भ्रमण स्वदेश मै गर्ने, नेपालको काम नेपालीले नै गर्ने वातावरण भएमा नेपालको पैसा बाहिर जाँदैन, नेपालबाट अर्बौं रेमिटेन्स भारतमा जान्छ, यसलाई स्वदेशी रोजगारीमा परिणत गर्न सकिन्छ ।
११. भ्रष्ट्राचार, फजुल खर्च, डोजरे बिकास रोक्ने, कनिका छर्ने, बजेट सक्ने वा अन्तिम प्रहरमा खर्च बढाउने परम्परालाई नियमन गर्ने ।

१२. अर्थमन्त्रालयको नेतृत्वमा अर्थबिज्ञको टिम हुनुपर्ने, अर्थतन्त्र बचाउने रणनीति बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने ।
नेपाल कृषिप्रधान देश भएको, ठूला परियोजनामा चक्रवर्ती ब्याजमा नफसेको तथा सानो व्यवसाय भएको हुँदा श्रीलंकाको हाल नहुनसक्छ, तर पनि समयमै सचेत हुनुको विकल्प छैन ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १३:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।