Logo

राजनीति

एमाले सर्लाहीका अध्यक्षकाे आराेप : गुटको राजनीतिमात्र गर्न जानेका ओलीले पार्टी चलाउन सकेनन्



नेकपा एमालेका सर्लाहीका अध्यक्ष रेवती पन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले सधैं गुट चलाएकाले पार्टी चलाउन नसकेको आरोप लगाएका छन्। पन्तले ओलीले एमाले सक्न खोजेको बताएका छन्।

‘ओलीले पार्टी चलाउन सकेनन्, पहिलेदेखि नै गुटको राजनीति गर्दै आएकाले उनलाई पार्टीको नेतृत्व घाँडो भयो ,’ उनले भने ‘ ओली एमाले सिंगो होस् भन्ने नै चाँहदैनन् किनभने उनले एमालेबाट लिनुपर्ने र पाउनुपर्ने सबै पाइसके, अब उनलाई केही मतलब छैन ।’

उनले एमालेलाई यो संकटमा ल्याउने काम पनि ओलीले नै गरेको बताएका छन्। नेकपा बन्दा जनतामा छाएको विश्वास र आस्थामाथि ओलीले नै प्रहार गरेको पनि उनको दाबी छ।

पार्टीमा संकट देखिएपछि माधवकुमार नेपालको पक्षमा लागेका उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान च्यात्ने काम गरेको आरोप लगाए। ‘दुईजना मिलेर जे पनि गरिरहेका छन्, सिस्टम र संविधान के हो भन्नेतिर उनीहरुको ध्यान गएन, केवल आफ्नो जागिर बचाउनमात्र उनीरहरु लागे,’ उनले भने, ‘भोलि उनीहरु रहलान् नरहलान् तर संविधानमाथिको प्रहार र पार्टीमाथिको अलोकतान्त्रिक कदमको कुनै दिन हिसावकिताव हुन्छ।’

सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) लाई अलग पारिदिएपछि एमालेलाई व्यवस्थित गर्न ओलीको नचाहेको भन्दै थपे ‘ओलीले एमालेलाई गुटको राजनीति गर्ने क्लव बनाए, आसेपासे र अरौटेभरौटेले उनलाई बिगारे, उनी पनि त्यसैमा मख्ख छन्।’

आफूहरु एमालेको एकतालाई बचाउन सधैं लागिपरेको उनको भनाइ छ। ‘नेपाल पक्षलाई पेलेरै जान्छु भन्ने सोचले ओली ओरालो लाग्दैछन्, पार्टी र देश नै मै हुँ भन्ने अहंकारीको कुनै दिन अन्त्य हुन्छ’ उनले भने ‘ एमाले बिग्रेको सबै जिम्मा ओलीले लिनुपर्छ, उनका सल्लाहकार र दलाली गर्नेहरु पनि त्यत्तिकै दोषी छन्।’

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।