लुम्बिनी प्रदेशमा खाली रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार भएको निर्वानमा विपक्षी गठबन्धनका कांग्रेस उम्मेदवार दीर्घनारायण पाण्डेले विजयी भएका छन् । पाण्डेले ४ हजार १४० मतभार ल्याउँदा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६१२ मत मात्रै ल्याए ।
निर्वाचनमा प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २१७ जना रहेका छन् । प्रदेशसभा सदस्य ७९ जनामध्ये जनता समाजवादी पार्टीका चार जनाको सांसद पद खोसिएको छ ।
पार्टी विपरीत काम गरेको भन्दै जसपाले लुम्बिनी प्रदेश सरकारमा मन्त्री पद समालेका चार सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो । कारबाहीको जानकारी जसपाले निर्वाचन आयोग र संसद सचिवालयलाई समेत दिएको थियो ।
सोही जानकारीका कारण लुम्बिनी प्रदेशमा आज भइरहेको निर्वाचनमा यी चार सांसदको मतदाता नामावलीमा नाम प्रकाशित भएन । जसकारण निलम्बित सांसदले अदालत र निर्वाचन आयोगको ढोका ढक-ढकाए । अदालतले पनि उनीहरूको सांसद पद पुनःस्थापना गर्न सकेन । सांसद नरहे पनि उनीहरू मन्त्री पदबाट मुक्त भएका छैनन् । अदालतले फैसला गर्न नसक्दा चार सांसद शुक्रबार निर्वाचन आयोगमा पुगे ।
आयोगले प्रदेश निर्वाचन अधिकृतलाई राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न दिनु भनी पत्र पठायो । र, उनीहरू निर्वाचनमा सहभागी भए ।
सत्ताको शक्ति प्रयोग गरी गैरसांसदलाई पनि मतदानको अधिकार दिएको विपक्ष दलका नेताहरूको आरोप छ ।

















प्रतिक्रिया