पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ । पार्टी निर्णय विपरीत गएको भन्दै उनको सांसद पद खारेज भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए । संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ ।
उनलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निष्कासित गर्नुका साथै केन्द्रीय कमिटीबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ ।
गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैँ विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका थिए भने २ सांसद विरुद्धमा ।
तर सांसद थापाले भने यसअघि नै आफू अदालत जान सक्ने संकेत गरिसकेको छन् । संसद्को बजेट अधिवेशनमा बोल्दै उनले आफू अदालत जान सक्ने बताएका थिए । थापाले पार्टी महासचिव मनोज भट्ट अहिले अप्ठेरोमा परेको बताएका छन् ।
गण्डकी सरकार फेर्न काठमाडौंबाट पोखरा आएर निकै महँगो महलमा बसेर कांग्रेस सरकार बनाए सधैं त्यही महलमा बस्ने सपना देखेको र पूरा नहुने देखेपछि अप्ठेरोमा परेको थापाले बताएका छन् ।
भट्टसँगै शर्मा थरका अर्का एक पनि पोखरा आएर कांग्रेस नेतृत्वको सरकार बन्ने सपना देखेको उनी बताउँछन् । ‘काठमाडौंका शर्मा र भट्ट अहिले निकै अप्ठेरोमा देखिन्छन् । गण्डकी सरकार फेरि कांग्रेस सरकार बनाइ महलमा बस्ने सपना सपनामा मात्र हुन्छ कि भनेर,’ उनले भनेका छन् ।
दुई नेता पोखरा आएर निकै महँगा होटेलमा बसेको र आमन्त्रित अतिथि बन्दै घरघरै चाहरेको पनि उनको आरोप छ । ‘मिस्ठान्नले लोभिन्छन् । पोखरा कार्य क्षेत्र निकै रुचाउँछन्,’ उनले भने ।
यी दुई नेता चरित्र हत्या र कीर्ते काम गर्न नचुक्ने उनको अर्को आरोप छ । आफूलाई भेट्न विभिन्न कांग्रेस सांसदलाई दूत बनाएर पठाउँदै कांग्रेसलाई साथ दिए मात्र सांसद पद नखाइदिने भन्दै धम्की दिएको उनले बताए ।
आफू कांग्रेससँग नमिल्नाले मनोज भट्टलाई निकै ठुलो समस्या परेको उनी बताउँछन् । ‘अहिले निकै चर्चा छ कांग्रेससँगको सम्झौता कार्यान्वयन नगरे तुरुन्तै फिर्ता गर भन्ने दबाबले भट्ट र शर्मा तनावमा छन्, कतै यिनीहरू पार्टी भित्रका घुस पैटियात हैनन् ? शंका गर्ने ठाउँ छ ।’ उनले भने ।




















प्रतिक्रिया