गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे सम्पर्कविहिन भएका छन् । बुधबार रातीदेखि नै उनी सम्पर्कविहिन भएका हुन् । मनाङेले मुख्यमन्त्रीको साथ छोडेको समाचार समाधानले प्रकाशित गरे बिहीबार बिहानैदेखि उनको खोजी भैरहेको छ । साथिभाइ र आफन्तले सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी फेला परेका छैनन् ।
मुख्यमन्त्री गुरुङले मनाङेसँग वार्ता गर्न ३ सांसदलाई दूत बनाएर पठाएका थिए । मनाङका सांसद र राजीव पहारीलाई दूत बनाएर मुख्यमन्त्रीले पठाएका थिए । ती सांसदहरुसँगको वार्तामा मन्त्री मनाङेले विपक्षीलाई साथ दिने जवाफ दिएका थिए ।
२९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण बिहीबार विश्वासको मत लिन लागेका हुन् । २६ वैशाखमा राजीनामा दिएपछि संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोहोरिएका थिए ।
यता राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पनि तटस्थ बस्ने भएका छन् । उनलाई पार्टीले सांसदबाट कारबाही गरेकोमा सर्वोच्च अदालतले पद पुनर्स्थापना गरेको थियो । फेरि उनीविरुद्ध भ्याकेट निवेदन परेको छ ।
गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य छन् । जसमा विपक्षमा नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । जसअनुसार मनाङेसहित विपक्षीको ३१ मत पुग्छ भने मुख्यमन्त्री गुरुङको पक्षमा २७ सांसदमात्र हुने देखिन्छ । बहुमत पुर्याउन ३१ मत चाहिन्छ ।
यसअघि विपक्षीले बहुमत पुर्याउन सभामुखको राजीनामा गराउने तयारी गरे पनि मनाङेले साथ दिने भएपछि राजीनामा नदिने भएका हुन् ।

















प्रतिक्रिया