शुक्रबारको वागमती प्रदेशसभामा काँग्रेस नेता तथा प्रदेश सांसद नरोक्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्न आफू तयार रहेको जस्तो गैरजिम्मवार अभिव्यक्ति दिएका हुन् ।
प्रदेशसभाको आगामी आर्थिकवर्षको नीति तथा कार्यक्रममाथिको छलफल चलिरहदा सांसद वैद्यले प्रधानमन्त्री ओलीलाई नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्दै अभिव्यक्ति दिएका थिए ।
‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । आवश्यक परे म आफु नाथुराम बन्न तयार छु ।’- सांसद वैद्यले प्रदेशसभामा भने ।
को हुन् नाथुराम गोड्से ?
भारतका लोकप्रिय प्रधानमन्त्री महात्मा गान्धीको हत्याको आरोप लागेका नाथुराम गोड्से हिन्दु उग्रवादीहरुको संस्था राष्ट्रिय स्वयम सेवक संघमा आवद्ध रहेको बताइन्छ । तर उक्त संघले गोड्सेको संलग्नता अस्वीकार गरेपनि सन् १९४८ जनवरी ३० मा गान्धीको हत्या भएपछि उक्त संघलाई गृहमन्त्री सरदार बल्ल्भभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए ।
भारतीय जनता पार्टीले सत्ता सम्हालेपछि उसको देशमा गोड्सेको गुणगान र आलोचना एकसाथ हुन थालेपछि गोड्से फेरिपनि चर्चामा आएका थिए । भारतमा एक पक्षले गोड्सेलाई स्वतन्त्रता सेनानी तथा शहीद भन्दै जन्मजयन्ती नै मनाएपछि उनको चर्चा एकाएक चुलिएको थियो ।
गोड्सेको चर्चा पुन: चुलिदा भारतका चर्चित पत्रकार अनिल जैनले प्रश्न गर्दै लेखेका छन् ।- ‘गान्धीको जुन हत्याराको यसरी महिमामण्डन गरिराखिएको छ, त्यसको बारेमा के कुरा जान्नु अभिरुचीपूर्ण छ कि उ गान्धीको हत्या गर्नुअघिसम्म के थियो ? के उ चिन्तक थियो, हिन्दु महासभाको जिम्मेवार पदाधिकारी वा स्वतन्त्रता सेनानी थियो ? ‘
पत्रकार जैनका अनुसार नाथुराम सानैदेखि आवारा स्वभावका थिए । उनी एउटा स्कूल छोडेर अर्कोमा भागेका थिए । नूतन मराठी विद्यालयमा माध्यमिक तहको परिक्षामा फेल भएपछि उनले पढाई छोडेका थिए भने मराठी भाषा उनको लागि काम चलाउ मात्र रहेको थियो । उनका पिता बिनायक गोड्से मासिक हुलाक मासिक पाँच रुपैयाँको तलबमा काम गर्थे ।
आफूभन्दा पहिले जन्मिएका सबै सन्तान मरेकोले नाथुराम परिवारमा प्यारो बने । जसले गर्दा लाडप्यारले छोरीहरु जस्तै गरी उसलाई हुर्काइयो र नाकमा नत्थी लगाइयो । त्यही कारणले उनको नाम नै
नाथुराम रहन गयो ।
पुणेमा सन् १९१० मा जन्मिएको नाथुरामको लागि जस्वनकै पहिलो घटना १९४४ सेप्टेम्बरको थियो । हिन्दु महासभाका नेता लक्ष्मण गणेश थट्टेले सेवाग्राममा धर्ना दिदा उनीपनि सहभागी भए । जुन बेलामा गान्धी भारतको विभाजनलाई रोक्न माहम्मद अली जिन्नासँग वार्ता गर्न मुम्बई जान लागेका थिए । त्यो बेलामा गोड्सेले चक्कुले गान्धीमाथि हमला गर्ने प्रयास गरेपछि आश्रमवासीहरुले उनलाई पक्राउ गरेका थिए ।
जब बेलायती वायसरायले भारतको स्वतन्त्रताको विषमा छलफल गर्न नेताहरुलाई सिमलामा बोलाए, त्यो बेलामा नाथुराम एउटा पत्रिकामा संवाददाता रहेको बताइन्छ ।
नाथुरामले गान्धीको हत्याको अर्को प्रयास सन् १९४८ जनवरी २० मा गरेको थियो । उनले आफ्ना सहयोगी मदनलाल पाहवासँग मिलेर गान्धीले प्रनर्थना गरिहेका बेला नयाँ दिल्लीको बिरला भवनमा बम हानेको थिए । तर उनको बमको निशाना चुक्नाले गान्धी जोगिएका थिए । त्यतिबेला पाहवा पक्राउ परेपनि नाथुराम भाग्न सफल भएका थिए ।
त्यसको १० दिनपछि नाथुराम फेरि दिल्ली आए । जुनदिन उनी गान्धीको हत्या गर्न सफल भए । उनले गान्धीको हत्या गरेपछि उनको घरमा छापा मार्दा घातक हतियारहरुको भण्डारण नै भेटिएको थियो । थोरै मात्र पढाईलेखाई भएको नाथुरामलाई कतिपय हिन्दु उग्रवादीले गान्धीको हत्याका लागि भाडामा प्रयोग गरेको चर्चा भारतमा छ । नाथुरामको चिकित्सकीय प्रतिवेदनमा उनी माइग्रेन रोगबाग ग्रसित रहेको समेत देखाईएको थियो ।
वैद्यको चौतर्फी विरोध, आत्मालोचना गर्न कांग्रेस प्रवक्ताको निर्देशन
काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद रहेका वैद्यले दिएको अभिव्यक्तिको व्यापक विरोध भएको छ । पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहेका वैद्यलाई पक्राउ गरी कारवाही गर्न तीब्र दवाव बढेको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गरिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।

















प्रतिक्रिया