केन्द्रदेखि जिल्ला तहसम्म समानान्तर कमिटी बनाएर अघि बढेको नेकपा एमालेको माधवकुमार नेपाल समूह वाग्मती प्रदेशमा भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहको साथमा उभिएको छ । शनिबार बिहान बसेको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन् ।
नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य रचना खड्काका अनुसार वाग्मतीको नीति तथा कार्यक्रम पास गर्न एमाले एक ढिक्का हुन लागेको हो । शाक्यले सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहोल बनोस् र त्यसको उदाहरणीय काम वाग्मतीबाटै सुरू होस् भनेर सन्देश दिन आफूहरू एक भएको बताइन् ।
उनले पार्टी एकताको वातावरण बनाउनका लागि सरकारको नीति तथा कार्यक्रम पारित गराउन आफूहरू एक हुन लागेको स्पष्ट पारिन् । यस्तै नेतृ शाक्यले आफूहरूलाई मुख्यमन्त्रीले सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको जानकारी बैठकमा गराएको जनाइएको छ ।
मुख्यमन्त्रीले पनि बजेट पार्दा समानुपातिक रूपमा सबै क्षेत्रमा पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालिएको छ ।
नेकपा एमाले वाग्मती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बैठक बसेको थियो । बैठकमा एमालेका दुवै पक्षका सांसदहरू सहभागी भएका थिए । नीति तथा कार्यक्रम आज वाग्मती प्रदेशमा निर्णयार्थ पेश हुँदैछ ।

















प्रतिक्रिया