नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्रीमा आफ्नो नाम पक्का जस्तै भए पनि प्रधानमन्त्रीका वरिपरिका मानिसले बिगारेको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा अघिल्लो साँझ आफ्नो नाम रहे पनि केही कारणले हटेको बताएका हुन् । उनले त्यस्ता सल्लाहकारबारे सोच्नसमेत आग्रह गरेका छन् । उसो त उनी सधै चर्चामा रहने पात्र हुन् । गृहमन्त्री बन्ने कुरा बाहिरिएसँगै उनको चर्चा थप चुलिएको थियो ।
प्रधानमन्त्रीले पनि आफूलाई गृहमन्त्री बनाउन चाहेकोमा पार्टी भित्रैबाट हुन नदिएको बताए । ‘प्रधानमन्त्रीसहित शीर्ष नेता बसेर नाम टुंगो लगाउनुभएको थियो । आन्तरिक रूपमा बधाई पनि लिइसकेको थिएँ । पछि मेरो नाम आएन । तर, यसलाई स्वाभाविक रूपमा लिएको छु’, अनलाइनपानासँगको कुरा कानीमा उनले भने ।
उनले आफूलाई गृहमन्त्री भएको हेर्न नचाहनेहरूले नै प्रहरीले मानेन भन्ने हल्ला फैलाएको बताए । ‘एमालेभित्रका कतिपय साथीलाई आफ्नो राजनीतिक भविष्य अन्योलमा पर्छ भन्ने लागेछ’, उनले भने ।
उनले आफ्नो विरुद्धमा लाग्नेहरू प्रधानमन्त्रीको वरिपरिका साथीहरू रहे पनि उनीहरूको नाम आफूले अहिले नै खोल्न नचाहने प्रतिक्रिया दिएका छन् । ‘गृह जतिको वजनदार मन्त्रालय मैले पाउँदा मेरो समकक्षी ठान्ने वा सिनियर सम्झनेहरूले आफ्नो राजनीतिमा असर पर्ने देखेर घेराबन्दी र लविङ गर्नुभयो’, उनले भने । उनले सेवा, सुविधा र पदका लागि अभियान चलाउने र लविङ गर्ने आफ्नो प्रवृति नभएको बताए ।
आफू जनताका लागि राजनीति गर्न आएकाले सधै जनताकै माझमा रहने उनले बताए । ‘परिभाषित भूमिकामा म आफूलाई खरो ढंगले उतार्ने गर्छु । त्यसैले नेताहरूले मलाई जिम्मेवारी दिने गरेको विश्वास छ’, उनले भने ।
उनले प्रधानमन्त्रीको सल्लाहकार समूह साँधुरो भएकाले आफूले फेर्न सुझाव दिएको बताए ।

















प्रतिक्रिया