प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते पहिलो संसद् विघटन गरेपछि बिग्रिएको माधव नेपालसँगको सम्बन्धले नेकपा एमालेलाई पनि फुटको डिलमा पुर्याएको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग-अलग बनाएपछि पनि एमाले एक ठाउँमा हुन सकेको छैन । विगत ६ महिनादेखि विभक्त देखिएको एमाले औपचारिकरुपमा फुट्न पनि सकेको छैन ।
नेतृत्वको अन्तरविरोधका कारण पार्टी पराजित हुँदा पनि दुबै पक्षले आफ्नो अडानलाई कायमै राखेका छन् । एमाले एकताका लागि भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत साता पार्टीलाई जेठ ३ मा फर्काउन तयार रहेको प्रस्ताव गर्दै माधव समूहलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका थिए ।
तर, माधव समूहले भने जेठ २ मा बिना शर्त जेठ २ मा फर्किनुपर्ने अडानसहितको ६ बुँदे काउन्टर प्रस्ताव सार्वजनिक गरेका थिए । एमाले एकता गर्नेभन्दै दुबै समूहका दोस्रो तहका नेताहरु सक्रिय भने सफल हुन सकेका छैनन् । विगत केही दिनेखि दुबै समूहका दोस्रो तहका नेताहरुको वार्ता पनि स्थगित भएको छ ।
यही बेला पार्टी अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरुलाई बोलाएर असार २ गते स्थायी कमिटी बैठक बस्ने बताएका थिए । तर, असार २ गते अर्थाब बुधबार उक्त बैठक बस्न सकेन । यसअघि सर्वोच्च अदालतले एक अन्तरिम आदेश जारी गर्दै एमालेको केन्द्रीय कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी बनाएको निर्णय बदर गरेको थियो । महाधिवेशन आयोजक समितिले गरेको कारवाहीलाई अस्वीकार गरेपछि एमाले नवौं महाधिवेशनबाट निर्वाचित कमिटीमा फर्किएको विश्लेषण हुन थालेको छ । तर, ओली समूहका केही नेताहरुले भने भ्याकेट निवेदन दिने बताएका थिए । तर, उक्त आदेशविरुद्ध भ्याकेट निवेदन पनि परेको छैन ।
नेकपा एमालेको बुधबार बस्ने भनिएको बैठक किन बस्न सकेन भन्ने प्रश्नमा नेकपा एमालेका नेता सुवास नेम्वाङले बैठक बस्ने सूचना आफूलाई नआएको बताएका छन् । उनले भने, “बैठक बस्ने सूचना मसँग आएकै छैन । मिडियाले प्रचार गरेर बैठक बस्ने भनिदियो । प्रचारको भरमा बैठक बस्दैन । बैठक बस्ने तय नै नभएकाले बैठक बसेन ।”
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि स्थायी समिति बैठक बोलाउने नै भन्ने कुरा भए पनि छलफल भइरहेको बताएका छन् । ओलीले स्थायी समिति बोलाउँदा त्यसमा माधव समूह सहभागी हुन्छ कि हुँदैन भन्ने अन्योलता बढेपछि बैठक बस्न नसकेको एमाले ओली समूहकै एक नेताले जानकारी दिएका छन् ।
नेकपा एमालेको माधव कुमार नेपाल समूहका नेता घनश्याम भुसालले ओलीले जेठ २ गते फर्किने प्रतिबद्धता गरेपछि मात्रै बैठकमा सहभागी हुन सकिने बताएका थिए । त्यस्तै नेपाल समूहकै नेतृ रामकुमारी झाँक्रीले मंगलबार राति स्टाटस लेख्दै बैठकमा सहभागी हुन नसकिने बताएकी थिइन् ।

















प्रतिक्रिया