पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभा जोगाउनका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् । जेठ २९ गते मुख्यमन्त्री बनेका पोखरेलले शुक्रबारको प्रदेश सभा बैठकमा बोल्दै संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएकोबारे चर्चा गरेका थिए ।
नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने बाचा गरेको पनि उनले स्मरण गराए । यस्तै, महिलाहरुले भोग्नु परेको धेरै पीडामध्ये एक रहेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उपचारमा शल्यक्रिया गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको पनि उनले सुनाए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई मुख्यमन्त्री बनाउन ३१ सांसद्ले समर्थन गरेका थिए ।

















प्रतिक्रिया