Logo

राजनीति

जब आत्तिदै बालुवाटार छिरे दाहाल…



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आत्तिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान ओलीसँग दाहालले भेट गरेका हुन् । भेटमा दाहालले कर्णाली प्रदेशमा पूर्वएमालेका नेता र प्रदेश सांसदहरूबाट दर्ता भएको अविश्वासको प्रस्तावमाथि गम्भीर असहमति जनाएको उच्च स्रोतले जनाएको छ ।

ओलीले सो विषयमा आफूलाई कुनै जानकारी नरहेको र बुझ्ने आश्वासन दाहाललाई दिएका छन् ।

ओलीको जवाफले मात्रै दाहाल सन्तुष्ट हुन सकेका छैनन् । ओलीसँग दाहालले पूर्वसहमतिअनुसार नै कर्णाली प्रदेशमा शाहीलाई निरन्तरता दिनुपर्ने अडान राखेका छन् ।

पूर्वएमाले सांसदहरूले पूर्वमाओवादीका मुख्यमन्त्री शाहीलाई काम गर्न नसकेको आरोप लगाएर आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावले सबैभन्दा धेरै तनाब दाहाललाई भएको छ ।

शाहीलाई मुख्यमन्त्री दाहालले नै बनाएका हुन् । दाहालका शाही विश्वासपात्र मानिन्छन् । तर, शाहीले कर्णाली प्रदेशमा कुनै पनि काम गर्न सकेका छैनन् ।

यसैबीच, ओली र दाहालबीच नयाँ मन्त्रीहरू बनाउने विषयमा कुराकानी भएको छ । तर, सहमति भएको छ वा छैन केही भनिएको छैन ।

पूर्वमाओवादी फाल्न पूर्वएमाले मैदानमा, मुख्यमन्त्रीको कुर्सी हल्लियो

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद कर्णाली प्रदेशमा छताछुल्ल भएको छ । पूर्वएमाले निकटका प्रदेश सांसदद्वारा पूर्वमाओवादी निकटका सांसद अर्थात मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपाका प्रदेश सांसदहरूले आविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपामा १८ जना सांसदले शाहीलाई मुख्यमन्त्री पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । शाही पूर्वमाओवादी निकटका हुन् । शाही पुष्पकमल दाहालका निकटका मानिन्छन् । मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच शुरूदेखि नै विवाद थियो । कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन्।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको बताएका छन् ।

हस्ताक्षर गर्नेहरूमा यमलाल कँडेल, चन्द्रबहादुर शाही, करबीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, मीना सिंह, दान सिंह, पदमबहादुर रोकाय, पदम खड्का, कौसिलावती खत्री, पुष्प घर्ती विष्ट, राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, अम्मरबहादुर विष्ट, बहमी बोहरा, देवी ओली रहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।