Logo

कर्पोरेट टक

एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा परेका भट्टचन को हुन् ?



काठमाडाैं । प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपालका एक प्रतिष्ठित व्यवसायी हुन् । प्रभु बैंक, प्रभु लाइफ र प्रभु जनरल इन्स्योरेन्स, प्रभु क्यापिटलसहित डिसहोममा पनि उनले लगानी गरेका छन् । उनी व्यवसायी मात्र होइनन्, एक कुशल राजनीतिज्ञ पनि हुन् । लामाे समय नेपाली कांग्रेसको विरासत बोकेर हिँडेका भट्टचन अन्ततः आगामी ४ मंसिरको निर्वाचनमा एमालेको समानुपातिक सूचीमा अटाए । उनी ०७४ मा कांग्रेसकाे समानुपातिक सूचीमा परे पनि संसदीय यात्रा भने तय गर्न भने सकेनन् ।

भट्टचनको राजनीतिक यात्रा २०४३ बाटै सुरु भएको हो । सोही वर्ष धौलागिरि अञ्चलका चार जिल्ला हेर्ने गरी युवक संगठनको अञ्चल उपसभापति निर्विरोध निर्वाचित भएका उनी २०४५ मा राजा वीरेन्द्र धौलागिरि भ्रमणमा निस्किँदा उपसभापतिको हैसियतले उनी सहभागी भएका थिए । त्यसला राजाले हरेक वर्ष एक महिना एउटा क्षेत्र भ्रमण गर्ने कार्यक्रम तय हुन्थ्यो ।

२०४६ मा जनआन्दोलन पछि २०४७ मंसिरमा भट्टचनले नेपाली कांग्रेसको साधारण सदस्यता लिएका हुन् । वास्तवमै भन्ने हो भने उनको व्यावसायिकभन्दा राजनीतिक पृष्ठभूमि लामो छ ।

२०४८ को चुनावमा स्वतन्त्र उठेर दोस्रो ठूलो मत ल्याएको र कांग्रेसबाट जिविस सदस्य भएर काम गरेकाले २०५१ को मध्यावधि निर्वाचनमा सांसदको टिकट पाउन आशा उनले गरेका थिए । तर, दिइएन । स्थानीय निकायको पहिलो कार्यकाल सकिएसँगै राजनीतिबाट उनी टाढा भएर करिब २० वर्ष पूरै व्यवसायमा सक्रिय भए र व्यवसायलाई एउटा उचाइमा पुर्‍याए । फेरि २०७२ बाट उनको ध्यान राजनीतिमा तानियो । २०७४ मा बागलुुङमा एमालेबाट प्रत्यक्ष चुनाव लडिदिन निमन्त्रणा आएको भए पनि भट्टचनले प्रत्यक्ष नभई समानुपातिक लड्ने विचार व्यक्त गरे । तर कुरा मिलेन र उनी गएनन् ।

०७४ मा कांग्रेस समानुपातिक सूचीको पहिलो तीन नम्बरमा भनिए पनि भट्टचनको नाम नवौं नम्बरमा पर्यो । त्यसपछिको पाँच वर्ष कांग्रेसमा बसेर महाधिवेशनलगायत सबै ठाउँमा उनले गर्नुपर्ने कर्तव्य पूरा गरे । तर, २०७९ को आमनिर्वाचनमा समानुपातिकमा पर्ने आश्वासन दिइएको भए पनि कांग्रेसमा नाम नपरेपछि एमालेतिर लागे । कांग्रेसकै साथीहरूलाई सोध्दा १ नम्बरमा नाम राख्ने पार्टीमा जान सुझाव १ नम्बरमा राखेकै कारण उनी एमालेमा बसेका हुन् ।

कांग्रेसबाटै कुनै अर्को क्षेत्रमा प्रत्यक्ष सांसदको टिकट दिन सकिने कुरा पनि उनलाई नआएको होइन । तर भट्टचनको रुची समानुपातिकमै थियो । व्यावसायिक मान्छे भएकाले राजनीतिलाई पूरै समय दिन नसक्ने हुँदा उनले समानुपातिक रोजेकोका हुन् । उनले २०४८ मै प्रत्यक्ष निर्वाचन लड्दाको अनुभव बटुसिकेका छन् ।

भट्टचनका अनुसार व्यवसायीले आफ्ना व्यवसाय ‘साइड’ मा राखेर वा छोराछोरीलाई जिम्मा दिएर छुट्टै राजनीति गर्छु भनेर आउँछन् । अहिले राजनीतिमा आएका विनोद चौधरी, उमेश श्रेष्ठलाई जस्तै उनी पनि व्यवसायलाई साइडमा राखेर राजनीतिमात्र गर्ने लक्ष्यका साथ आएका हुन् ।

उनका अनुसार लोकप्रियताका लागि व्यवसायी राजनीतिमा आएको भन्ने हुँदैन । आफ्नो व्यवसाय छाडेर पूर्णरूपमा राजनीतिमा लोकप्रियताका लागिमात्र जाने कुरा पनि होइन । व्यवसायी भएर पनि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भए । फेरि उठ्ने चर्चा छ । उनी पनि व्यवसाय छाडेर राष्ट्रपति बनेका थिए । सिंगापुरमा पनि व्यावसायिक मान्छे राष्ट्रपति भएका छन् । विश्वभरिमा व्यावसायिक मानिस राजनीतिमा आएको देखिन्छ । त्यसैले राजनीतिमा आएर आफ्नोतर्फ थोरै भए पनि योगदान गर्न खोज्नुु अन्यथा नहुने भट्टचन बताउँछन् ।

राजनीतिमा टिकिरहन कार्यकर्ता रिझाउनुपर्ने दबाब हुन्छ । त्यसलाई व्यवसायीले झेलिदिने भएकाले राजनीतिक दल वा नेतालाई सजिलो हुने उनी ठहर गर्छन् । अर्थात, पछिल्लो समय राजनीतिक दलहरू व्यवसायप्रति बढी नतमस्तक देखिन्छन् र कुनै न कुनै व्यवसायीलाई आफ्नो पार्टीमा ल्याउन चाहन्छन् ।

संवैधानिक व्यवस्थाका कारण यो स्थिति आएको उनलाई लाग्छ । किनभने समावेशी संविधानका कारण सबै जाति, धर्म, लिङ्गलाई समावेश गर्नुपर्ने स्थिति छ । कुनै बेला कर्णाली प्रदेशमा मन्त्रीहरू समावेशी भएनन् भनेर कुरा उठेको थियो। समावेशी बनाउन व्यवसायी पनि समेटिएको उनी बताउँछन् ।

व्यवसायीहरूको पहुँच प्रायः सबै दलका नेतासँग हुन्छ । राजनीतिमा व्यवसयाी आउँदा विकास निर्माणको काम ‘फास्ट ट्र्याक’ मा हुने उनी बताउँछन् । व्यवसाय गरेर बसेकै कारण सबैसँग चिनजान हुन्छ । राजनीतिमा व्यवसायी कमाउन होइन, काम गर्न जाने उनी बताउँछन् । त्यसैले उनीजस्ता व्यवसायीको उपस्थिति संसदमा रहँदा जनताको काम अहिलेको भन्दा केही छिटो हुने उनी दाबी गर्छन् ।

समानुपातिक सूचीमा परेपछि सांसद भए पनि नभए पनि पाँच वर्षका लागि उम्मेदवारी कायम रहन्छ । त्यसैले अबका पाँच वर्ष भट्टचन नेकपा एमालेकै नेता तथा कार्यकर्ताका रूपमा रहन्छन् । संसदमा भए भने उनले रोजगारी सिर्जनाका लागि नीतिगत निर्णयमा बहस तथा छलफल चलाउने छन् ।

(एमाले समानुपातिक उम्मेदवार एवं व्यवसायी भट्टचनसँग गरिएको कुराकानीका आधारमा)

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  ३ : ५५ बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।