Logo

समाचार

डब्लुएचओ क्षेत्रीय निर्देशकको निर्वाचन : भारतले नेपाल र बंगलादेशमध्ये कसलाई चुन्ने ?



एजेन्सी । भारतका लागि छिमेकी देश नेपाल र बंगलादेशमध्ये कसलाई चुन्ने भनेर धर्मसंकटको स्थिति पैदा भएको छ ।

नेपाल र बंगलादेशले विश्व स्वास्थ्य संगठनमा क्षेत्रीय निर्देशक पदमा आ–आफ्नो उम्मेदवार उठाउने फैसला गरेको छ । भारतमा यसै हप्ता हुने जी–२० समिटमा अलगै यस चुनावबारे छलफल हुन सक्ने बताइएको छ ।

अंग्रेजी पत्रिका ‘द हिन्दु’ ले यसबारे एक रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टअनुसार डब्लूएचओको शीर्ष पदका लागि बंगलादेशबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद र नेपालको तर्फबाट शम्भुप्रसाद आचार्य उम्मेदवार बन्न लागेका छन् ।

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय निर्देशक पदको चुनाव नयाँ दिल्लीमा ३० अक्टोबरदेखि २ नोभेम्बरबीच हुने भनिएको छ । यसमा ११ देशले मतदान गर्नेछन् ।

मतदान गर्ने देशमा बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, नेपाल, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लेस्ते छन् । सन् २०१४ देखि यस पदमा भारतकी पुनम खेत्रपाल रहेकी थिइन् ।

आचार्य विगत २४ वर्षदेखि जेनेभामा विश्व स्वास्थ्य संगठनको मुख्यालयमा सेवा दिइरहेका छन् । नेपाल सरकार यसका लागि सक्रिय रहेको संयुक्त राष्ट्रमा समर्थनको अपेक्षा गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १३:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।