काठमाडौं । एक समय थियो, बैंकलाई सुरक्षित संस्था मानिन्थ्यो । मानिसहरू आफ्नो जीवनभरको कमाइ बैंकमा राख्थे, ढुक्क हुन्थे । तर अहिले परिस्थिति फेरिएको छ ।
बैंकमा पैसा जम्मा गर्न जाँदा कुनै प्रश्न हुँदैन, तर आफ्नै पैसा निकाल्न खोज्दा बैंकका कर्मचारीले सोध्ने प्रश्नको सूची लामो हुन्छ— “किन निकाल्न लागेको ?”, “कहाँ लैजाने ?”, “के प्रयोजन हो ?” ।
एटीएमबाट एकैपटक ५० हजार रुपैयाँ निकाल्न पाइने व्यवस्था घट्दै–घट्दै अहिले २० हजारमा झरेको छ । बैंकहरू तरलता अभावमा छन् भन्ने चर्चा बजारमा बाक्लिंदै गएको छ ।
बैंकहरूले बचतकर्तालाई तीनदेखि चार प्रतिशत ब्याज दिने वाचा गरेर पैसा उठाइरहेका छन्, तर नेपाल राष्ट्र बैंकले त्यही पैसा तानेर कम ब्याजमा राखिरहेको अवस्था छ । यसले बैंकहरूको आम्दानी र खर्चबीचको सन्तुलन बिग्रँदै गएको देखाउँछ ।
बैंकहरूको वास्तविक संकट अहिले कर्जा असुलीमा देखिएको छ । वर्षौंसम्म घरजग्गा, शेयर र गाडीमा जथाभावी लगानी गरेका बैंकहरू अहिले त्यही निर्णयको चपेटामा परेका छन् ।
बजार बढिरहन्छ भन्ने विश्वासमा बैंकहरूले जोखिमको वास्तै नगरी ऋण बाँडे । तर अहिले घरजग्गा कारोबार ठप्पजस्तै छ, शेयर बजार कमजोर छ र गाडी बिक्री घटेको छ ।
सबैभन्दा गम्भीर प्रश्न धितोको विश्वसनीयतामाथि उठेको छ । ललिता निवास, बाँसबारी छाला जुत्ता कारखाना, गिरिबन्धु टी–स्टेट, बालमन्दिर, सरकारी तथा गुठी जग्गासँग जोडिएका प्रकरणमा बैंकहरूले अर्बौं कर्जा प्रवाह गरेका थिए ।
पछि ती जग्गा सरकारी स्वामित्वमा फर्काइँदा बैंकको लगानी जोखिममा परेको छ । धितो नै विवादित भएपछि बैंकले ऋण कसरी उठाउने भन्ने प्रश्न उठेको छ ।
कतिपय ठूला व्यवसायिक घराना, घरजग्गा कारोबारी र राजनीतिक पहुँच भएका व्यक्तिहरूले अर्बौं रुपैयाँ ऋण लिएर बसेका छन् । बजारमा एउटै व्यक्तिले ७५ अर्बसम्म कर्जा लिएर फरार भएको चर्चा छ ।
विभिन्न उद्योगपति, व्यवसायी तथा प्रभावशाली व्यक्तिहरूले घरजग्गा धितो राखेर अर्बौं उठाएको तथ्य सार्वजनिक हुँदै आएको छ । बैंकहरूले ऋणीको प्रभाव र पहुँच हेरे, जोखिम हेरेनन् भन्ने आरोप अहिले चर्किएको छ ।
यही कारण अहिले बैंकहरू कर्जा उठाउन नसक्ने अवस्थामा पुगेका छन् । बैंकको अन्तिम उपाय धितो लिलाम हो । तर लिलाम गरिएको घरजग्गा वा सम्पत्ति किन्ने क्षमता अहिले बजारमा कम देखिन्छ । सर्वसाधारण आर्थिक संकटमा छन्, लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । धितो बेच्न नसक्दा बैंकको पैसा थुनिएको छ ।
सहकारी संकटले सर्वसाधारणको विश्वास पहिल्यै कमजोर बनाइसकेको छ । “सहकारी भाग्दैन” भनिँदा–भनिँदै हजारौं बचतकर्ताको रकम डुब्यो । अहिले त्यही तुलना बैंकसँग हुन थालेको छ ।
यद्यपि बैंकहरू सहकारीजस्तो नियमनविहीन संस्था भने होइनन् । बैंकहरू राष्ट्र बैंकको निगरानीमा छन्, पूँजी पर्याप्तता र तरलता सम्बन्धी नियम लागू हुन्छन् । त्यसैले तत्काल सबै बैंक डुब्छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।
तर अर्को सत्य के हो भने बैंकिङ प्रणाली दबाबमा छ । खराब कर्जा बढिरहेको छ, नाफा घटिरहेको छ, बजारमा विश्वास कमजोर बन्दै गएको छ । विगतमा छोटो समयको नाफाका लागि गरिएको आक्रामक लगानी अहिले बैंकहरूकै घाँटीको पासो बन्न थालेको छ ।
अहिलेको अवस्था बैंकहरूको लागि चेतावनी पनि हो । उत्पादनशील क्षेत्रभन्दा घरजग्गा र शेयरमा केन्द्रित लगानी, राजनीतिक पहुँचका आधारमा कर्जा प्रवाह, कमजोर धितो मूल्यांकन र जोखिम व्यवस्थापनको अभावले बैंकिङ प्रणालीलाई जोखिमतर्फ धकेलेको देखिन्छ ।
बैंकहरू अझै सञ्चालनमै छन्, प्रणाली पूर्ण रूपमा धराशायी भइसकेको छैन । तर, यदि कर्जा असुली सुधारिएन, बजार चलायमान भएन र बैंकहरूले विगतको गलत अभ्यास सच्याएनन् भने संकट अझ गहिरिन सक्ने चिन्ता व्यक हुन थालेका छन्।




















प्रतिक्रिया