नेपाल कम्युनिष्ट पार्टीभित्र विभिन्न धारहरु देखिएका छन् । विवादको भूमरीमा फँसेको नेकपामा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधवकुमार नेपाल दुई समूह सक्रिय रहेका छन् ।
एउटा समूहले अर्को समूहलाई खुइल्याउन विभिन्न खाले हर्कतहरु पनि गर्दै आएका छन् । गुटलाई प्रश्रय दिने गरी जारी विवाद चर्किए पार्टी संकटमा पर्ने नेताहरु नै बताउँछन् ।
गुटगत संकट चर्किदै जाँदा पूर्वमाओवादीका एक समूह भने दुई अध्यक्ष एक ठाउँमा उभिनुपर्ने बताउँन थालेका छन् । नेकपा विवाद बढ्दै जाँदा पार्टी एकतामा चुनौती थपिएको बताइरहँदा पूर्व एमाले वा पूर्वमाओवादीको झल्को देखिएको छैन ।
बरु, पूर्व एमाले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम अध्यक्ष दाहालसँग रहेका छन् भने पूर्वमाओवादी रामबहादुर थापा सहितका केही नेताहरु बहुमत वा अल्पमतको खेलमा जान नहुने पक्षमा देखिएका छन् ।
गृहमन्त्री समेत रहेका थापालाई ओली निकटका रुपमा पनि चित्रण गर्न थालिएको छ । उनीसँगै रहेका भनिएका पम्फा भुषाल, देव गुरुङलगायत अहिले अध्यक्ष दाहालसँग छन् ।
उता, दाहाल निकट मानिएका टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, लेखराज भट्टहरु थापाकै लाइनमा दुई अध्यक्ष मिल्नुको विकल्प नभएको बताउँदै छन् । यसले भोलि नेकपा फुटमा पुगे पूर्व एमाले र पूर्व माओवादीहरु एक–अर्कामा मिसिने संकेत देखा परेको छ ।
थापा सहित पाँच स्थायी कमिटी सदस्यहरु दुबै अध्यक्षका प्रतिवेदन फिर्ता गरेर एउटै प्रतिवेदन पेश हुनुपर्ने अडानमा छन् । आइतबार बसेको स्थायी कमिटी बैठकमा त थापाले विवाद समाधानका लागि एउटा कार्यदल नै बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
उनले उपाध्यक्ष गौतमको संयोजकत्वमा महासचिव विष्णु पौडेल र आफू सहित कार्यदल बनाउन बैठकमा प्रस्ताव राखेका थिए । तर, बैठकले उनको प्रस्ताव अस्वीकार ग¥यो ।
पूर्व माओवादी पृष्ठभूमिका थापा सहित रायमाझी, गजुरेल, भट्ट, मणि थापाले दाहाल-नेपाल गठबन्धन नै एकताको भावना विपरित रहेको निष्कर्ष निकालेका छन् । उनीहरुले एकताको रक्षा गर्नका लागि दुई अध्यक्ष ओली र दाहाल मिल्नुको विकल्प नभएको तर्क गरेका छन् ।
एकताको महाधिवेशनसम्मका लागि विधानले निर्देश गरेका सहमतिको विकल्प बाहिर जान नहुने उनीहरुको भनाइ छ । तर, अध्यक्ष दाहाल सहमतिको उलंघन अर्का अध्यक्ष ओलीले गर्दै आएकाले पुराना सहमतिहरुमा फर्किन नसकिने अडानमा छन् ।
नयाँ सहमतिका लागि ओलीले त्याग गर्नै पर्ने उनको प्रस्ताव मात्र रहेको छैन, आवश्यक परे आफू पनि पद त्याग गर्न तयार रहेको अर्को पासा फालेका छन् । ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको प्रस्तावलाई ‘काउन्टर’ दिनै यो पासा फालेको कतिपय नेताहरु बताउँछन् ।
तर, इमान्दारपूर्व दुबै अध्यक्ष पार्टी जोगाउन लाग्ने हो भने सहमतिकै आधारमा एकताको महाधिवेशनसम्म जान तयार हुनुपर्ने पक्षधरहरुको मत पनि बलियो बन्दै गएको छ ।





















प्रतिक्रिया