Logo

अरुण भ्याली हाइड्रोपावरले ५ दशमलव २६३ प्रतिशत लाभांस दिने



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २३औं वार्षिक साधारण सभा वौष ८ गते, बुधबार, कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको २१ औं वार्षिक साधारण सभाले पारित गरेको १–१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ (१.०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ११:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।