Logo

प्रमुख समाचार

फाइभजी सुरु गर्न फोरजीको पूर्वाधार विस्तार आवश्यक



काठमाडौँ । नेपालमा फाइभजी सेवा सुरु गर्नुअघि फोरजी पूर्वाधारको विस्तार अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्वार्ड मिडिया डायलग’ कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो।

कार्यक्रममा नेपालमा फाइभजी सञ्चालनको सम्भावना, चुनौती र आवश्यकतामाथि छलफल गरिएको थियो। वक्ताहरूले फाइभजीको प्रभावकारी कार्यान्वयनका लागि बलियो फोरजी नेटवर्क आधार तयार हुनुपर्नेमा जोड दिए।

नेपालजस्ता भौगोलिक रूपमा जटिल र लगानी सीमित देशमा तत्कालै स्ट्यान्ड–अलोन फाइभजी पूर्वाधार निर्माण गर्न कठिन हुने भन्दै विज्ञहरूले नन–स्ट्यान्ड अलोन प्रविधि उपयुक्त विकल्प हुनसक्ने बताएका छन्।

कार्यक्रममा एआई, डेटा सेन्टर, फाइभजी, नवीकरणीय ऊर्जा र मोबाइल ब्रोडब्यान्डलगायत विषयमा प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको थियो। हुवावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हुरले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ विषयमा प्रस्तुतीकरण गर्दै व्यावसायिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको बताए। उनका अनुसार एआईले उत्पादकत्व वृद्धि, लागत नियन्त्रण र निर्णय प्रक्रियामा सुधार ल्याउन मद्दत पुर्‍याउँछ।

यस्तै, डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले ‘नेक्स्ट जेन डेटा सेन्टर सोलुसन फर एक्सिलरेटिङ डिजिटलाइजेसन’ विषयमा प्रस्तुतीकरण गर्दै डिजिटल अर्थतन्त्रमा डेटा सेन्टरको महत्व औंल्याए। उनले बढ्दो डेटा व्यवस्थापनका लागि सुरक्षित, दिगो र उच्च क्षमतायुक्त डेटा सेन्टर आवश्यक रहेको बताए।

हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले नेपालमा प्रविधि क्षेत्रको विकासप्रति आफू उत्साहित रहेको उल्लेख गरे। पर्याप्त दक्ष जनशक्ति भए पनि सूचना तथा सञ्चार प्रविधि विकासमा नेपाल छिमेकी देशभन्दा केही पछि रहेको उनले बताए।

उनले भने, “यो चुनौतीसँगै अवसर पनि हो। अन्य देशको तुलनामा नेपालमा सुधारका लागि धेरै सम्भावना छन्।” उनले दूरसञ्चार क्षेत्रको दिगो र क्रमिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा टीजेएफका अध्यक्ष पूर्ण दुवालले प्रविधि र मिडिया अहिले एकअर्काका पूरक बनेको उल्लेख गर्दै सही सूचना प्रवाह र डिजिटल साक्षरता विस्तारमा प्रविधि पत्रकारिताको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताए।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार १९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।