Logo

राजनीति

छाया सरकार पन्छाएर प्रतिपक्ष एक ढिक्का !



नेकपा नेतृत्व सरकारको काम कारबाहीलाई नियालिरहेको नेपाली कांग्रेसको प्रतिपक्षी आवाज चर्किन नसकिरहेको आरोप छ । गणितीय हिसाबले अत्यन्त कमजोर रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सकेन भनेर आम नागरिकहरु चिन्तित भएका छन् । सरकारका गतिविधिहरु एकपछि अर्को गर्दै विवादित बन्दै गइरहँदासमेत संसद्मा प्रतिपक्ष छ कि छैन भन्ने अवस्था आइरहेको सर्वसाधरणको बुझाई मात्र होईन आक्रोस समेत बढिरहेको छ ।

यसै कुरालाई ख्याल गरेर काण्डैकाण्डको भूमरीमा फस्दै आइरहेको नेकपाको सरकारविरुद्ध लोकतान्त्रिक धारणा मिल्ने दलहरुसँग काँग्रेसले मोर्चाबन्दीको तयारी गरेको छ । त्यसैले अन्य साना दल सहित प्रतिपक्ष एक ढिक्का हुने रणनीति अख्तियारी भइरहेको छ । सदनमा प्रभावकारी भूमिका खेल्न नसके पनि सडकमा सरकारको उछितो उतार्न काँग्रेसले राजपा र समाजवादी दलसँग रणनीति बनाउन छलफल थालेको छ ।

काँग्रेसले गठन गरेको छाया सरकारले पनि सरकारको गतिविधिमाथि निगरानी गर्न नसकिरहेको अवस्थामा मोर्चाबन्दी गरी सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने निर्णयसमेत गरेको छ । सरकारका गतिबिधि रेखदेख गर्न गठन भएको काँग्रेसले गठन गरेको छाया सरकार खासै प्रभावकारी हुन सकिरहेको छैन् । त्यसो त तत्कालका लागि छाया सरकारलाई पन्छाएर साना दलसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस एकढिक्का हुन लागेको छ ।

मन्त्रिपरिषद्का नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविनको अधिकार नभएका कारण पछिल्लो समय केपी ओली नेतृत्वको सरकार अर्बौं आर्थिक अनियमिततामा मुछिएको पछिल्लो घटना गोकुल बास्कोटा काण्डले उजागर गरेको छ ।

नेकपामा ओली नेतृत्वको सरकारले आर्थिक अनियमितता सँगसँगै व्यक्तिगत वा पार्टीगत स्वार्थ पूरा गर्न पनि नीतिगत निर्णयलाई माध्यम बनाएका राज्यको ढुकुटी दोहन गर्ने काम भइरहेको छ । यस्तै प्रवृत्तिविरुद्ध जनचासोका विषयमा कार्यगत एकता गरेर संसद्मा प्रस्तुत हुने, भ्रष्टाचार तथा अनियमितताका विषयमा संयुक्त रुपमा भण्डाफोर गरेर सरकारका गलत क्रियाकलापलाई आमजनतामाझ पुर्‍याई नाङ्गेझार पार्ने समेत बताइएको छ ।

सरकारका मन्त्री नै भ्रष्टाचारमा संलग्न रहँदा र प्रधानमन्त्रीले २ महिना अगाडि थाहा पाउँदासमेत मौन रहनुलाई प्रतिपक्षले प्रधानमन्त्री ओलीको धारणा माग्ने त्यसपछि चित्त नबुझे संसद् र सडक तताउने सहमति भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलवार १८:५१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।