दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु नै कमजोर बनाउने खेलमा लागिरहेका छन् ।
दलमा ओलीलाई कमजोर बनाउने खेलले कतै भविष्यमा सत्तारुढ दलको हैसियतमा अहिलेको नेपाली कांग्रेसकै जस्तो त हुने हैन भन्ने चिन्ता नेता कार्यकर्तामा रहेको चिया पसल र चोक चोकमा सुनिन थालेको छ । जनताले विश्वास गरेर बहुमत दिएर सत्तामा पु¥याएका वामपन्थी नेताहरु जनचाहना विपरीत आफ्नै पार्टीलाई धराशायी बनाउने खेलमा लागेका छन् ।
कम्युनिष्टका शत्रु कम्युनिष्ट नै हुन् भन्ने चर्चित कथनलाई कतै नेताहरुले चरितार्थ गर्ने त होइनन् भन्ने आशंका उव्जिएको छ । व्यक्तिभित्र बढेको सत्ता आकांक्षा नरोकेर ओलीलाई नै कमजोर पारेर आफ्नो भर्याङ तयार गर्ने खेल जारी छ । नेकपामा देखिएको यो खेलले नेकपालाई नै पनि कमजोर बनाउने निश्चित छ । अहिले नेपालमा संसदीय व्यवस्थाअन्तर्गत शासन व्यवस्था सञ्चालित छ ।
यस्तो प्रणालीमा सरकारका विशेषाधिकारलाई सुरक्षित गरिएको हुन्छ । त्यस्ता विषयमा सरकारसम्बद्ध दलको सुझाव, सल्लाह र राय स्वाभाविक भए पनि त्यो मान्नै पर्ने बाध्यकारी नियमबाट सरकार बाँधिएको भने हुँदैन । सरकारले आवश्यक परेका विषयमा राजनीतिक पार्टीसँग सल्लाह सुझाव लिन सक्छ, त्यो आफ्नो या प्रतिपक्षी जुनसुकै पार्टी पनि हुन सक्छ ।
अहिले त एउटा पार्टीको सरकार ओलीले चलाइरहेका छैनन् । नेकपाले चलाईरहेको छ । नेकपाले जुनसुकै निर्णय गर्दा पनि ओलीलाई दबाब दिइरहेका छन् । त्यो नेपालले अंगीकार गरेको शासन व्यवस्थाको मूल्य र मान्यता विपरीतको कार्य हो । नेकपाका केही नेता लोकतान्त्रिक संविधान अन्तर्गतको संसदीय प्रणालीको सरकारलाई पूरै निर्देशित र दलीय एकीकरणमा चलाउने प्रयत्न गरेर देशलाई एकदलीय अधिनायकवादको अभ्यासमा लैजान खोजिरहेका छन् ।
संसदीय निर्वाचनमा पराजित वामदेव गौतमको प्रधानमन्त्री बन्ने महत्वाकांक्षालाई पुरा गर्न संविधान संशोधन गर्न समेत नेकपा तयार भएको छ । संविधान संशोधन गर्ने गौतमको सर्त मानेर नेकपा सचिवालयले उनलाई राष्ट्रिय सभामा लैजान सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
ओलीे नेतृत्वको सरकारले भर्खर दुई वर्ष पार गरेको छ । जनताद्वारा पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त नेकपाले आफ्नो पहिलो संसदीय दलको बैठकमै दलका तर्फबाट पाँच वर्षका लागि भनी सर्वसम्मत ढंगले ओलीलाई छानेको थियो । त्यो जनादेश र संसदीय दलको निर्णयकै भावनाविपरीत अहिले ओलीलाई परिवर्तन गर्ने खेलमा अन्य नेताहरु लागेका छन् । ओलीको नेतृत्वलाई अप्ठेरो पार्ने हिसाबले नेताहरु कोठे षड्यन्त्रमा लागेका छन् ।
सत्तारुढ दलका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा सिर्जित विवादले ठूलै रुप लिएको छ । आफू कुनै स्थितिमा पनि पछि नहट्ने संकेत दलका शीर्ष नेतालाई वामदेवले दिइसकेका छन् । यता ओली, सरकार चलाउन दलले सहज वातावरण दिनु पर्ने भन्दै आफू अनुकूलको व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने आफ्नो पूर्ववत् अडानमा छन ।
यसको संकेत उनले उपचारार्थ अस्पतालमै भएको बेला राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिएका युवराज खतिवडालाई पुनः सोही पदमा नियुक्त गरेर देखाइसकेका छन् ।
विगतमा पनि खतिवडा ओलीकै कोटाबाट राष्ट्रिय सभामा पुगेका थिए । ओली उपचारपछि स्वास्थ्य लाभ गरिरहेकाले मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । बैठक नबसेपछि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले मनोनयन गर्ने व्यक्तिको विषयमा अहिलेसम्म कसैको नाम सिफारिस हुन सकेको छैन् अभियान टाइम्समा खबर छ ।
नेकपा सचिवालयले गौतमको नाम प्रस्ताव गरेपनि ओलीले पदावधि सकिएका खतिवडालाई नै अर्थमन्त्रीमा पुनः नियुक्त गरेपछि अन्योल झन बढेको छ । तर, ओली इतरका नेता भने पार्टी सविचालयको निर्णय नै अन्तिम हुने बताइरहेका छन् ।
















प्रतिक्रिया