Logo

राजनीति

विद्यादेवी भण्डारीको राष्ट्रपति पदमाथि तरुण दलकाे निशाना



नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले संविधान जोखिममा परेको भन्दै राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी ओलीको कारिन्दा बनेर बसेको आरोप लगाए । उनले संविधानको संरक्षक हुनुपर्नेमा राष्ट्रपति भण्डारी संविधानको भक्षक बनेको जनाएका छन् ।

उनले भने, ‘राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

उनले प्रधानमन्त्री ओलीले संसदलाई बन्धक बनाएर स्वयच्छाचारी ढंगले मुलुक चलाउन खोजेको भन्दै सचेत गराएका छन् । बस्नेतले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरेका हुन् । उनले ओलीको सर्वसत्तावादी गतिविधिविरुद्ध तरुणहरूले आन्दोलन सशक्त बनाउने चेतावनी दिएका छन् ।

‘संसदीय मूल्य मान्यता बोकेका मुलुकहरूले सबै समस्याको समाधान संसदबाट नै खोज्नुपर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ’, बस्नेतले भनेका छन् । ‘हाम्रो माउ पार्टी नेपाली कांग्रेसले सर्बसत्तावादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने जानकारी समेत गराउदछौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘प्रस्तुत विषयमा प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौंदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ’, तरुण दलको विज्ञप्तिमा भनिएको छ ।

‘अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रीय समिति अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।