Logo

राजनीति

ओलीलाई भिम रावलले किन दिए यस्तो बिकल्प



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई एउटा बिकल्प दिएका छन् । नेपाल रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले स्थायी समितिको बैठक बोलाउन नसक्ने भए ओलीले केन्द्रीय कमिटीबाट अध्यादेश अनुमोदन गरेर देखाउनुपर्ने चुनौती दिए ।

स्थायी समितिको बैठक तत्काल नबोलाउने भए सरकारका पछिल्ला कामकारवाही र अध्यादेशका विषयमा छिनोफानो गर्न केन्द्रीय कमिटीमा मतदानमा आउन उनले ओलीलाई चुनौती दिए । नेकपाका नेता रावलले सरकारले गरिरहेका नराम्रा काम र स्वयम् प्रधानमन्त्री ओलीले कोरोनाको महामारी चलिरहेका बेला दल विभाजन गर्ने र संवैधानिक परिषदबाट विपक्षीलाई हटाउनुपर्ने अध्यादेश किन ल्याएको हो ? भनेर प्रश्न गरेका छन् ।

उनले यसका विषयमा स्थायी समितिमा छलफल र त्यहाँ नमिले केन्द्रीय कमिटीमा जानुपर्ने धारणा राखेका छन् ।

कोरोना संक्रमणबाट जोगिनका लागि सरकारको आदेश पालन गरेर सबै घरभित्र बसिरहेको अवस्थामा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने, जनतालाई घरबाहिर आउन नदिएर महोत्तरी पुगेर अपरहणको शैलीमा मान्छे बोकेर आउने र पार्टी विभाजनको काम अगाडि बढाउन खोज्नुको कारण स्थायी समितिको बैठकमा ओलीले जवाफ दिनुपर्ने नेता रावलले उल्लेख गरे ।

‘हामीले पार्टी नीति, विधि, विधान र पद्धतीबाट चल्नुपर्छ, कोरोनाविरुद्धको अभियान प्रभावकारी हुनुपर्छ, अध्यादेश फिर्ता भयो तर, यसपछिका घटनाको समीाक्षा गर्नुपर्छ, बजेट र सरकारका नीति तथा कार्यक्रममा छलफल गरौँ भनेर स्थायी समितिको बैठकको माग गरेका हौँ’, उनले भने ।

‘सरकार र पार्टीका कार्यक्रमका विषयमा छलफल हुनुपर्छ । विधि, पद्धती र प्रणालीमा नेताहरू चल्नुपर्छ’, उनले भने, ‘विधान विपरित काम गर्ने व्यक्तिले देश बनाउँछु भन्नु गलत हो ।’

‘बैठक बोलाउँदा प्रधानमन्त्रीले हामीलाई धम्की दिने ? यस्ता धम्कीले अब नेकपा रहँदैन र हाम्रो अस्तित्व पनि रहँदैन’, रावलले भने, ‘पार्टीका साथीहरूको कुरा नसुनेर प्रधानमन्त्रीले के पार्टी विभाजन गर्न खोज्नु भएको हो ? व्यक्ति विशेषको लागि मात्रै नेकपा बनेको हैन ।’

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १३:००   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।