Logo

राजनीति

सत्तारुढ नेकपामा गुटगत घुर्की !



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहको भेलामा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवम् गृहमन्त्री  रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको भेलामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन्। 

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरेका थिए। आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन्। 

उक्त भेलामा पनि थापा र गौतम सहभागी भएका थिएनन्। उपाध्यक्ष गौतम सचिवालयका पाँच शीर्ष नेताहरुको छलफलमा सहभागी हुँदै आएपनि प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेलामा सहभागी भएका छैनन्।

प्रचण्ड–माधव नेपाल पक्षले अलग्गै बैठक 

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएको छ । भेलामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गरी चारजना सचिवालय सदस्यहरु सहभागी छन् ।

गृहमन्त्री रामबहादुर थापाको आफ्नै भेला

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेकपाका सांसदहरूसँग छलफल गर्दै जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी थिए । छलफलमा लेखराज भट्टसमेत सहभागी रहेको बताइएको छ ।

गृहमन्त्री रामबहादुर थापाले भने मन्त्रीनिवास पुल्चोकमा छुट्टै भेला गरिरहेका छन् । भेलामा संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
 

रायमाझी र गजुरेल मौन

भेलामा टोपबहादुर रायमाझी र हरिबोल गजुरेल पनि अनुपस्थित भएका छन् । दुवै नेता स्थायी कमिटी सदस्य र बिघटित प्रतिनिधिसभाका सांसद हुन् ।

पछिल्लो समय ओलीसँग दुवै नेता नजिकिएको चर्चा छ । रायमाझी र गजुरेललाई मन्त्री पदको प्रस्ताव आइरहेको बुझिएको छ । पूर्व माओवादी नेतामध्ये लेखराज भट्टले गुट परिवर्तन गरिसकेका छन् । उनी आज ओली भेलामा ओली नजिकैको लहरमा बसाइएका थिए ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ०९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।