Logo

कर्पोरेट फोकस

अग्नि सापकोटा, ‘जो भद्र र शालिन नेतामा गनिन्छन् !



सत्तारुढ नेकपाका भलादमी नेता अग्नि सापकोटा मिलनसार छन् । भद्र मात्र होइन, अहिलेसम्म उनि सदाचार नेतामा पनि चिनिन्छन् । तत्कालिन माओबादी युद्धका बेलादेखि अहिलेसम्म पार्टीप्रति निकै वफादार वनेर सक्रिय वनेका उनि अनुशाशित नेतामा गनिन्छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिन्डेका स्थायी बासिन्दा अग्निप्रसाद सापकोटा उमेरले आगामी फागुनमा ६२ वर्ष टेक्दैछन् ।

उनका बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटा हुन् । अग्निका श्रीमती र तीन छोरा छन् । २०७४ सालको आमनिर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सापकोटा अहिले संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिका सदस्य छन् ।

पार्टी एकीकरण नहुँदासम्म तत्कालीन माओवादी केन्द्रमा कार्यालय सदस्य रहेका थिए । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि भने उनको घटुवा भयो । सापकोटा अहिले स्थायी कमिटी सदस्य छन् ।

सापकोटाले सिन्धुपाल्चोककै श्रीकृष्ण विद्याश्रमबाट एसएलसीसम्मको अध्ययन गरेका थिए । एमएसम्मको अध्ययन गरेका सापकोटाले एसएलसीपछि सबै तह प्राइभेट अध्ययन गरेको संसद् सचिवालयमा रहेको उनको परिचयात्मक भिडियोमा उल्लेख छ । सापकोटाले २०२९ सालदेखि विद्यार्थी राजनीति शुरू गरेका थिए । २०३२ सालमा उनी शिक्षक भए ।

त्यसपछि उनी शिक्षकको राजनीतिबाट उदाए । २०३६ सालको जनमत संग्रहपछि सापकोटा शिक्षक संघर्ष समितिको केन्द्रीय उपाध्यक्ष हुँदै महासचिवसम्म बने । २०४८ सालमा सापकोटाले शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा होमिए । त्यसपछि उनी जनमोर्चाको केन्द्रीय सदस्य बने ।

२०५१ सालमा गठन भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा केन्द्रीय सदस्यका रूपमा आएपछि २०५२ साल फागुन १ गतेबाट शुरू भएको जनयुद्धमा उनी भूमिगत बने । बढी विचार गर्ने र कम बोल्ने नेताका रूपमा उनले तत्कालीन माओवादीभित्र आफ्नो प्रभाव विस्तार गर्दै लगेका थिए ।

सापकोटालाई हेटौंडा महाधिवेशनले पोलिटब्यूरो सदस्य बनायो भने विराटनगर सम्मेलनले स्थायी समिति सदस्य बनायो । ’२०६२ सालको ठोकर्पामा भएको भीडन्तमा मेरो शरीरमा एम १६ को ३ वटा गोली लागेको थियो,’ सापकोटाले आफ्नो परिचयात्मक भिडियोमा भनेका छन् । उनी शिक्षक संघर्षका सन्दर्भमा पटक(पटक जेल बसेका नेता हुन् ।

२०४२ साल वैशाखमा तत्कालीन पञ्चायती सरकारले उनलाई गिरफ्तार गरेर ५ महिना जेल राखेको थियो । सापकोटा भन्छन् ’जेल जाने–आउने काम नियमित जस्तै थियो मेरा लागि ।’

सिन्धुपाल्चोकले उनलाई दुईपटकको संविधान सभा निर्वाचन र त्यसपछिको आम निर्वाचनमा जिताएर काठमाडौं पठाएको छ । पहिलो र दोस्रो संविधान सभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सापकोटा २०७४ सालको आम निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी बनेका थिए । सापकोटा दुईपटक मन्त्रीसमेत बनेका छन् । २०६८ सालको वैशाखमा सूचना तथा सञ्चारमन्त्री बनेका सापकोटा २०७२ सालको कात्तिकमा वन तथा भू(संरक्षणमन्त्री बनेका थिए । उनी आफूलाई विचारसँग लगाव भएको नेताका रूपमा चित्रण गर्छन् ।

केहि दिन अघि अनलाइनपानासंगको अन्तर्वार्तामा उनले दुवै अध्यक्ष (ओली, दाहाल) को आँफुलाई सभामुखमा समर्थन रहेको बताइसकेका थिए । उनको पार्टीमा सधैं सन्तुलिन भुमिका रहेको उनका निकटले बताउने गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार १८:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।