सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर आन्तरिक विवाद र गुटबन्दी बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छिन् ।
एमसीसीकै सम्बन्धमा छलफल गर्न भन्दै पटकपटक आह्वान गरिएको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि स्थगित हुँदै आएको छ । प्रधानमन्त्री ओली पार्टीको सचिवालय र स्थायी कमिटीलाई छलेर संसदीय दलबाट एमसीसी पास गराउने रणनीतिमा लागेसँगै राष्ट्रपति भण्डारीले पनि प्रधानमन्त्रीको कदमलाई सहयोग पुग्ने गरी एमसीसीको पक्षमा लविङ थालेको नेकपा निकट उच्च स्रोतले जानकारी दिएको छ ।
सत्तारूढ नेकपाको आन्तरिक विवादमा अनावश्यक हस्तक्षेपको आरोप राष्ट्रपतिलाई लागेको यो पहिलोपटक भने होइन । यसअघि पनि पटकपटक विवादित बन्ने गरेकी थिइन् । जसरी पनि संसदबाट एमसीसी कम्प्याक्ट पास गर्ने अडानमा रहेका प्रधानमन्त्री ओली र संशोधन बिना पास गर्न नहुने अडानमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायतका बहुमत नेताको प्रयासले सत्तारूढ नेकपा फुटको नजिक पुगेको सार्वजनिक भएको बेला राष्ट्रपति भण्डारीको सक्रियता बढेको हो ।
एमसीसीलाई लिएर विवाद बढेसँगै त्यसको समाधान कसरी गर्ने भन्नेमा सत्तारूढ दलका शिर्ष नेता अलमलमा परेका छन् । एमसीसीलाई लिएर पार्टीभित्र छलफल गर्न प्रधानमन्त्री ओली तयार छैनन् आफ्नो स्वास्थको कारण देखाउँदै प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक बहिष्कार गरिरहेका छन् भने स्थायी कमिटीको बैठक बोलाउन आनाकानी गरिरहेकाले पनि नेकपामा आन्तरिक विवाद चर्किएको छ ।
एमसीसीलाई लिएर विवाद बढिरहँदा राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड बिच बढेको दुरीलाई कम गर्दै न्युनतम समझदारी कायम गर्न एंब एमसीसी विना अवरोध पास गर्न लविङ थालेको स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्री ओलीले पनि एमसीसी विवाद हल गर्न कार्यकारी अध्यक्ष प्रचण्डसामु यहि प्रस्ताव राखेका थिए । तर, कार्यकारी अध्यक्ष प्रचण्डले भने पार्टीको केन्द्रीय समितिको निर्णयले बनाएको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी कमिटीमै छलफल गरेर मात्रै उपयुक्त निर्णयमा पुग्ने अडानमा छन् ।
यस्तोमा पार्टी भित्रको विवाद मिलाउन र एमसीसी पास गर्न आफ्नो सक्रियता बढाएकी राष्ट्रपति भण्डारीको प्रयासले कत्तिको सार्थकता पाउँछ त्यो हेर्न भने केही दिन कुर्नैपर्छ ।




















प्रतिक्रिया