जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र झन् बलियो बनेको नेता यादवको भनाइ थियो ।
जसपा इलामले बिहीबार इलाम सदरमुकाममा गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गरेको र अदालतको फैसलाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको उल्लेख गरे ।
दिनरात लोकतन्त्र र संघीयतालाई समाप्त पार्ने खेलमा लागेर प्रधानमन्त्री ओली अधिनायकवादतर्फ उन्मुख बन्न संसद् विघटन गरे पनि अदालतले ओलीको त्यो सपनालाई चकनाचुर पारिदिएको यादवको भनाइ थियो ।
उनले अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गर्नेबित्तिकै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि उहाँ अझै सांसद खरिद बिक्री गरेर शासन गर्ने खेलमा लागेकाले उहाँका यो सपना अब पूरा नहुने दाबी पनि गरे। बहुमतको सरकारको नेतृत्व गरेका ओलिले प्रधानमन्त्रीको कुर्सीमा बसेपछि समृद्ध नेपाल, सुखी नेपालीको नारा ल्याए पनि अहिले त्यो नारा उल्टो भएर दरिद्र नेपाल, दुःखी नेपाली भएको टिप्पणी गरे ।
ओली नेतृत्वको सरकार काण्डैकाण्डमा मुछिएको, भ्रष्टाचारी, तस्कर, माफिया, कमिसनखोरलाई संरक्षण गर्ने काम मात्र वर्तमान सरकारले गरेको यादवको आरोप थियो । अरु मुलुकमा भ्रष्टाचारीलाई सजाय दिइन्छ, तर नेपालमा प्रधानमन्त्रीले नै संरक्षण गरेको उनको भनाइ थियो ।
बहुमतको जनमत पाएर सरकारमा पुगेको नेकपा देश चलाउन असफल भएको टिप्पणी गरे । पार्टीभित्रको विवाद समाधान गर्न नसक्ने ओलीले निरङ्कुशता लाद्न संसद् विघटन गरेर देशलाई बन्धक बनाउने खेलमा लागेको यादवको आरोप थियो ।
यसैगरी सभालाई जसपाका वरिष्ठ नेता अशोक राईले तानाशाहतर्फ उन्मुख बनेका प्रधानमन्त्री केपी ओलीको कदमलाई अदालतले अन्त्य गरिदिएको उल्लेख गरे । उनले मुलुक एउटा व्यक्ति र एउटा दलले मात्र चलाउन सम्भव नहुने भएकाले सबै दलहरु एक भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । उनले नेपालको संविधान धेरै हिसाबले विभेदकारी भएकाले दिगो शासन व्यवस्था दिन सक्ने बनाउनु आजको आवश्यकता रहेको औंल्याउँदै संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।
यस्तै पार्टीका अर्का नेता शरद्सिंह भण्डारीले वर्तमान प्रधानमन्त्री केपी ओलीले अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेको एक मिनेटमै नैतिकताको आधारमा राजीनामा दिएर सरकार गठनको बाटो खुला गर्नुपर्ने भए पनि हालसम्म राजीनामा नदिएर लाज पचाएर सरकारमा बसेको बताए ।
उनले ओली अझै पनि सरकारमा बस्ने चेष्टा देखाएर बसिरहे संसद्बाट घोक्र्याएर निकाल्ने चेतावनीसमेत दिए । सभामा बोल्ने अधिकांश वक्ताहरुले संसद्मा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेस प्रधानमन्त्री ओलीलाई देख्नेबित्तिकै निरीह बन्ने गरेको बताएका थिए । प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर बनेको स्पष्टोक्ति दिएका थिए । यसै गरी सभामा पार्टीका केन्द्रीय नेताहरु परशुराम बस्नेत, सुशीला श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया