प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनको विषयमा नेकपाको विभाजित धारणा प्रस्ट भएपछि थप रणनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । कानुनीरुपमा नेकपा अहिले पनि एउटै पार्टी रहेको निष्कर्ष निकाल्दै कांग्रेसले तत्काल दुवै समूहसँग सहकार्य हुन नसक्ने निर्णय गरेको हो ।
संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतीक्षा गर्ने निष्कर्ष निकालेको हो ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद् बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको बताए । उनले नेपाल समाचारपत्रसँग भने– ‘कानुनीरुपमा नेकपा एउटै पार्टी छ, पहिलो उहाँहरुको धारणा स्पष्ट हुन जरुरी छ, त्यसपछि मात्र सहकार्य गर्न सकिने विषयमा छलफल गर्न सकिन्छ ।
’तत्काल नयाँ सरकार गठन गर्ने विषयमा पार्टीले कुनै पनि निर्णय नगरेको बताउँदै नेकपाको दुई समूहको विवाद अहिले चलिरहेको अवस्थामा यो समूहलाई समर्थन गर्ने भन्ने विषयमा जान नसकिने उनले बताए ।
बैठकमा सभापति देउवालाई नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको महतले जानकारी दिए । बैठकले व्यक्तिव्यक्तिभन्दा पनि पार्टीसँग सहकार्य गर्ने निष्कर्ष निकाल्दै अहिले नेकपा एउटै छ, दुई ढंगले प्रस्ट भएर आएपछि सहकार्यबारे सोच्ने सकिने बताएको छ ।
सहमहामन्त्री महतले भने– ‘नेकपाको संसद् दल एउटै छ, यसोगर्छौं, उसो गर्छौं भन्ने कुरा नै छैन, अहिले नै यो पक्षलाई समर्थन गर्ने भन्ने कुरा अपरिपक्क हुन्छ, आधिकारिकरुपमा आउनुपर्यो, त्यसपछि छलफल गर्न सकिन्छ ।
’बुधबार नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देउवानिवासमै पुगेर सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । जवाफमा देउवाले पार्टीभित्र छलफल गरेर मात्र थप कुरा गर्न सकिने बताएका थिए । समाचारपत्रबाट
प्रतिक्रिया