Logo

राजनीति

डा. गौरी शङ्करलाल दासलाई हेमबहादुर मल्ल सम्मान



राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा. गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको यस दुई लाख रुपैयाँ राशीको सम्मान दासलाई बिहीवार प्रदान गरिएको हो । १९८२ साल असोज १० गते सिरहाको इनरुवामा जन्मनुभएका वरिष्ठ छाती रोग विशेषज्ञ डा दास ९६ वर्षको उमेरमा पनि सामाजिक अभियान्ताका रुपमा चिनिन्छन् । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा बीएससी र एमबीबीएस गरेका उनले वेल्स नेशनल स्कुल अफ मेडिसिनबाट क्षयरोगमा डिप्लोमा गरेका थिए ।

विसं २००९ देखि वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवा आरम्भ गरेका दास २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृतसमेत बनेका थिए । डा दासले १९७५९१९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा र विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रही माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गरेका थिए ।

उनी २०३५ देखि २०४७ सालसम्म लोकसेवा आयोग र २०५७ देखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य थिए । गोरखा दक्षिण बाहुलगायत विभिन्न सम्मानबाट विभूषित दास नेपाल रेडक्रस सोसाइटी, कुष्ठरोग निवारण संस्था, नेपाल दृष्टिविहीन कल्याण सङ्घ, वीपी आइ फाउण्डेसन, टीबी तथा छाती रोग विशेषज्ञ चिकित्सक सङ्घ, नेपाल क्षयरोग निवारण सङ्घ र नेपाल मेडिकल सङ्घलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध थिए ।

पछिल्लो समय डा दास नेपालका ज्येष्ठ नागरिकको हकअधिकारको संरक्षण र सशक्तीकरणमा संलग्न छन् । नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशनबीचको समझदारीबाट २०५९ सालमा हेमबहादुर मल्ल सम्मानको स्थापना भएको हो । १९९५ सालमा बाग्लुङको ढोरपाटनमा जन्मनुभएका मल्ल २०२० सालमा साल्ट ट्रेडिङमा प्रवेश गरेका थिए ।

उनले करिब २५ वर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकका रुपमा काम गरेकन थिए । इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ मल्ललाई नमुना प्रशासकका रुपमा लिने गरिन्छ । उहाँकै स्मरणमा हेमबहादुर मल्ल सम्मानको स्थापना गरिएको हो । मल्लको २०५७ सालमा निधन भएको थियो ।

पुरस्कारबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, प्राडा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा सन्दुक रुइत सम्मानित भइसकेका छन् ।

कार्यक्रममा साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला अर्यालले चिकित्सा र समाजसेवामा डा दासको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बहुमुखी प्रतिभाका धनी, समाजसेवी, कुशल व्यवस्थापकका रुपमालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटाले साल्ट ट्रेडिङलाई यस ठाउँमा ल्याउन स्व मल्लले अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।