दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु आज (बिहीबार) निर्वाचन आयोग जाने भएका छन्। निर्वाचन आयोगले नेकपा विवादमा निर्णय दिन ढिलाइ गरेको भनी असन्तुष्टि व्यक्त गर्दै आएको दाहाल–नेपाल समूहका नेताहरु आज आयोग पुग्न लागेका हुन्।
‘हिजोका बैठकले गरेका निर्णय जानकारी तथा अद्यावधिक गराउन आयोग जान लागिएको हो,। पार्टी निर्वाचनसम्बन्धी विभाग हेर्ने नेताहरु नै आयोग जानेछन्। बुधबारको स्थायी समिति तथा केन्द्रीय समितिले बिभिन्न नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो।
बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र कर्णबहादुर थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
सो बैठकले निर्वाचन आयोगले सो पार्टीको आधिकारिकता र निर्वाचन चिन्हबारे छिटो निर्णय दिन आग्रह गर्ने निर्णय पनि गरेको थियो। बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गरेको थियो। बैठकले उनलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन पनि दिएको थियो।
केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ। विभाजित नेकपाको ओली पक्षले केहि दिनपहिले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाई भट्टराईलाई सो पदमा चयन गरेको थियो।
बुधबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर नेकपा विवादमा आयोगलाई अनिर्णयको बन्दी नबन्न आग्रह गरेका थिए।
प्रतिक्रिया