Logo

राजनीति

 प्रधानमन्त्री प्रचण्ड हुन कांग्रेसको पनि सहमति भएको हो ?



प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सहकार्यबारे पार्टीका पदाधिकारीसहित शीर्षस्थ नेताहरुको राय लिएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरुसँग छलफल गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिरबाट आउन ढिलो भएपछि दिउँसो तीन बजेलाई बोलाइएको बैठक पाँच बजेपछि मात्र सुरु भएको थियो । छलफलमा नेताहरु सत्ता सहकार्यबारे नेकपाका केपी ओली भन्दा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा काँग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए । उनले मुलुकलाई निकास दिन प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न काँग्रेस लचिलो बन्नुपर्ने पौडेलको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ गते प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिनिधिसभामा अविश्वास प्रस्तावसमेत दर्ता गरेको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, काँग्रेस राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल,नेता दिलेन्द्र बडू, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत सहभागी थिए ।

प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार  २ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।