Logo

प्रमुख समाचार

एमसीसीको बिषयमा सुमारसँग ओलीले गरे यस्तो गुनासो



एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री रहेका एमसीसी सम्झौता पारित गर्न खोज्दा सभामुख र केही राजनीतिक दलका नेताले रोकेको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा बिहीबार ओलीले आफू प्रधानमन्त्रीमा रहँदासम्म एमसीसी संसदबाट पारित गर्न भरसक प्रयास गरे पनि सफल नभएको उल्लेख गरेका हुन् । ‘प्रधानमन्त्री रहँदा मैले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन धेरै प्रयास गरेको थिएँ’, ओलीको भनाइ उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख डा। राजन भट्टराईले भने, ‘तर, सभामुख र केही दलका केही नेताको अवरोधका कारण सम्भव भएन ।’

आफूले पटकपटक संसदीय प्रक्रियामा लान खोजे पनि तत्कालीन सभामुख कृष्णबहादुर महरा र अहिलेका सभामुख अग्नि सापकोटाको असहयोगका कारण एमसीसी अनुमोदन गर्न नसकेको ओलीको भनाइ थियो । महरा र सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा चलेको आरोप पनि उनले लगाए ।

ओली भेट्न बालकोट पुगेकी सुमारले ओलीलाई एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । जवाफमा ओलीले आफू सकारात्मक भए पनि उक्त काम गर्न नसकेको बताए । यद्यपि ओलीले आफ्नो दल एमाले प्रतिपक्षमा रहेकाले एमसीसी पारित गर्न आफ्नो भन्दा सत्तापक्षको बढी भूमिका हुने उल्लेख गरे । ‘सरकारले एमसीसीबारे के निर्णय गर्छ, त्यो हेरेर हामी अघि बढ्छौं’, ओलीले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:३०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।