Logo

राजनीति

निर्वाचन आयोगले संसदमा आजैदेखि एमाले-माओवादी अलग-अलग बस्ने पत्र



सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको सम्बन्धी निर्वाचन आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।

निर्वाचन आयोगको पत्र संसद्मा पुगेपछि बुधवारदेखि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरू छुट्टा–छुट्टै रोमा बस्ने भएका छन् । माओवादी केन्द्र पश्चिमपट्टि छुट्ट्याइएको सत्तापक्षको बेञ्चमा बसेपनि छुट्टै रोमा बस्ने भएको छ ।

फागुन २३ गते पुनस्स्थापित प्रतिनिधि सभाको बैठक बसेको पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एउटै रोमा बसेका थिए । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले मंगलवारदेखि माओवादी केन्द्रको लागि छुट्टै रोको व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक कक्षमा ६ वटा रो रहेकोमा पूर्वपट्टिका २ वटा रो प्रतिपक्षका लागि र पश्चिमतर्फका ४ वटा रो सरकारसहित सत्तापक्षका लागि छुट्ट्याइएको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म माओवादी केन्द्र सत्तापक्षकै रूपमा छ । प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार  १२ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।