नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल निकट स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आफूमाथि गरिरहेको विभिन्न गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने नेपाल खनाल पक्षले निर्णय गरेको जनाइएको छ ।
त्यस्तै, बैठकमा नेकपा एमालेलाई कसरी मजबुत बनाउन सकिन्न भन्ने विषयमा समेत छलफल भएको उपाध्यक्ष भीम रावलले बताएछन् । आजको भेला कुनै गुटगत नभएर पार्टीलाई अगाडि बढाउने विषयमा छलफल गर्नका लागि राखिएको रावलले बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै रावलले भने,’ अमिल्दा कामहरूलाई निरुत्साहित गर्ने एमालेको संगठित शक्तिलाई कमजोर बनाउने काम नहोस् भनेर सक्रियतापूर्वक लाग्ने भन्ने विषयमा छलफल भएको हो । ‘त्यस्तै, तुरुन्त पार्टीको बैठक बोलाएर विभिन्न विषयको हल खोज्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको रावलले जनाए ।
माओवादी छुट्टियो तर एमाले विवाद हटेन
सर्वोच्च अदालतको आदेशपछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मकवानपुरले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ भने हाल सञ्चालनमा रहेको नेकपाको कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काइदिएपछि मंगलबार नेकपा एमालेका नेता तथा कार्यकर्ताले हेटौंडा–५ को पुष्पलाल पार्कनजिकैको मदन भण्डारी स्मृति भवनबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन् ।
माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले भने हेटौंडा–४ स्थित गर्दोइमा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा बोर्ड राखेका छन् । सोही कार्यालयबाट अब नेकपा माओवादी केन्द्रको नियमित कामकारबाही शुरु हुने बताइएको छ ।
दुई पार्टीले यसरी छुट्टै कार्यालय सञ्चालन ल्याए पनि एमालेका दुई खेमाबीचको विवाद भने अझै उस्तै छ ।गत पुस २६ गतेदेखि मदन भण्डारी स्मृति भवनमा दुई ताला लगाइएको थियो ।
संसद् विघटनपश्चात् नेकपाको ओली समूहका जिल्ला अध्यक्षमा एकलाल श्रेष्ठलाई चयन गरिएपछि नेकपाकै प्रचण्ड–माधव समूहका जिल्ला अध्यक्ष सिग्देलले ताल्चा लगाएर पार्टी कार्यालय बन्द गरेर ‘सुरक्षाका लागि’ भन्दै साँचो आफै बोकेर हिँड्नुभएको थियो । त्यसपछि ओली पक्षका अध्यक्ष श्रेष्ठले त्यसैमा अर्को ताला झुन्ड्याउनुभएको थियो ।
तर सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै पार्टी कार्यालय खोलिएको छ । ताला लगाएर राखिएको नेकपा पार्टी कार्यालयको ढोका सोमबार ५८औं दिनमा खोलेर नेकपा अध्यक्ष श्रेष्ठले आफ्नो ‘पदभार’ ग्रहण गर्नुभएको छ ।
उता पार्टी एकीकरण अघिसम्म आफूले एमालेको जिल्ला अध्यक्ष भएर पार्टी चलाएको भन्दै सिग्देलले श्रेष्ठमाथि आपत्ति जनाउनुभएको छ । नेकपा एमालेबाट निर्वाचन लडेर जिल्ला अध्यक्षसहित आफू प्रदेशसभा सदस्य भएको सिग्देलको दाबी छ ।
सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि राजनीतिक सकसमा सबभन्दा बढी माधव पक्षका नेता तथा कार्यकर्ताहरू परेका छन् । यसको प्रभाव मकवानपुरका माधव पक्षका नेताहरूमा समेत परेको छ ।




















प्रतिक्रिया