Logo

राजनीति

माधव पक्षको उपस्थिति विना तोकियो सातै प्रदेशका इन्चार्ज, महाधिवेशन आगामी मंसिरमा



नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।  बैठक माधव नेपाल पक्षधर उपस्थित  थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए ।  सोही बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । बैठकले महाधिवेशनको मिति ०७८ मंसिर २ देखि ८ मा एमालेको महाधिवेशन गर्ने निर्णय भएको छ ।

यस्तै रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ ।

माधव नेपाल समूहका सबैमाथि कारबाही, जिम्मेवारी खोसियो

 एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।

ओलीले पार्टी बैठकै नराखी नेताहरुको जिम्मेवारी खासेका हुन् । ओलीले महासचिव ईश्वर पोखरेल बाहेक पदाधिकारी खारेज गरेका छन् । माधव नेपाल र झलनाथ खनालको वरिष्ठ नेताको जिम्मेवारी पनि खोसिएको छ ।

यस्तै प्रदेश इन्चार्जहरुमा व्यापक हेरफेर गरेका छन् । नेपाल समूहका प्रदेश इन्चार्ज हटाएर सात्रै प्रदेशमा आफ्नै समूहकालाई जिम्मेवारी तोकेका छन् । केन्द्रीय समिति बैठकको दुई दिनअघि ओली समूहका नेताहरु मात्र बसेर व्यापक सांगठनिक हेरफेर गरेका हुन् ।

प्रदेश–१ को इन्चार्जबाट भीम आचार्यलाई हटाइएको छ । आचार्यको ठाउँमा ओली समूहका सुवासचन्द्र नेम्वाङ इन्चार्ज चयन भएका छन् । प्रदेश–३ इन्चार्जमा रामबहादुर थापा आएका छन् । पूर्वमाओवादी नेता थापालाई इन्चार्जको जिम्मेवारी दिएर ओलीले अष्टलक्ष्मी शाक्यलाई हटाएका छन् ।

यस्तै युवराज ज्ञवालीलाई हटाएर कर्णाली प्रदेश इन्चार्जमा यमलाल कँडेललाई र सुदूरपश्चिम प्रदेश इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश–२ का इन्चार्ज सत्यनारायण मण्डल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेललाई भने निरन्तरता दिइएको छ । ती सबै ओली समूहका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।