प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी फुटाएर भए पनि आफ्नो सत्ता टिकाउन प्रयास गरिरहेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आफूप्रति सकारात्मक नभएकाले ओलीले अर्का अध्यक्ष महन्थ ठाकुरलाई फुटाउने प्रयास गरिरहेका छन् ।
ओलीले आइतबार अध्यक्ष ठाकुरलाई भेटेका थिए । त्यसपछि निरन्तर ठाकुरका प्रतिनिधि शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई ओली निकट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईले भेटिरहेका छन् ।
उनीहरुलाई ओली र उनी निकटहरुले सरकारले आए प्रतिनिधि सभाको उपसभामुख र अर्थ मन्त्रालयसहितका चार मन्त्रालय दिने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्र व्यूँताएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले सत्ता टिकाउन लोभलाग्दो अफर गरेका हुन् ।
तर, ओलीको यो अफरले भने जनता समाजवादी पार्टीमा भाडभैलो भएको छ । ओलीले आइतबार महन्थ ठाकुरसँग भएको औपचारिक भेट र तयसपछि उनीसँगका टेलिफोन वार्ता र उनका प्रतिनिधिहरु लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लसँग यस्तो प्रस्ताव गरेपछि जसपाभित्र विवाद भएको हो ।
गत बैशाख ११ गते तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जसपामा समाजवादी पार्टीका नेताहरुले ठाकुरले पार्टीमा थाहा नदिइ भेटेको र संविधान मिच्ने ओलीलाई समर्थन गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् । हिजो बसेको संसदीय दलको बैठकमा उनीहरुले आपत्ति जनाएका हुन् ।
ओलीले त महन्थलाई उनी निकटकी सांसद चन्दा चौधरीको नामै किटेर उपसभामुख बनाउने भनेको स्रोतहरुले बताएका छन् । ओलीलाई प्रतिनिधि सभामा बहुमत पुर्याउन १७ मत पुग्दैन । जसपा आएमा त्यो मत पुग्छ ।
जसपा पूरै नआएर पूरानो राजपा मात्रै आएपछि बहुमत पुग्ने भएर ओलीले त्यस्तो अफर गरेका हुन् । महन्थ पनि ओलीले अफर गरेपछि लोभिएका छन् । फुटाएरै भएपनि सत्तामा जाने तयारीमा उनी रहेको उनी निकट नेताहरुले बताएका छन् । अभियान टाइम्सका साथमा ।




















प्रतिक्रिया