Logo

राजनीति

खरानीका लागि घरको सत्यानास



एउटा मिथकीय पात्रबाट नेपाली राजनीतिमा उनको अवतरण भयो । दृष्टिविहीनले हात्ती छामेझैं विभिन्न अवतारमा प्रकट भएका उनले छविलाल नामलाई १० कक्षा पुगेपछि आफैंले पुष्पकमल बनाए । राजनीतिमा पदार्पणसंगै कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्डमा पुगेर आफूलाई स्थापित गरे । कतिले राजा ज्ञानेन्द्रको भूमिगत गिरोहको अवतार भनेर व्याख्या गरे । कतिले एउटा अमूर्तकलाको पात्र बनाए । उनी सशरीर नेपाली राजनीतिमा उपस्थित भएपछि भ्रमको पर्दा उत्रियो । प्रचण्ड हिँडेको, बोलेको, खाएको, कपाल कोरेको सबै समाचार बने । कुम हल्लाईमा नेपालीको भविष्य निर्धारणको प्रक्षेपण भए । उनी रिसाउँदा देशको मौसममा बद्ली आयो । खुशी भएर जुँगामा ताउ लगाउँदा देशमा दशाको कालो बादल फाटेको भन्दै उत्सव मनाइयो । 

प्रचण्डको क्रेजले ७० को दशकका बलिउड कलाकार राजेश खन्नाको झल्को दिन्थ्यो । राजेश खन्ना सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार बेलुका फर्कंदा महिला फ्यानको लालीको म्वाईंले रातो भएको हुन्थ्यो । बजारमा दुई रुपियाँमा कपाल काटिन्थ्यो तर खन्ना हेयर स्टाईलको बजार भाउ चार रुपियाँ थियो । राजेश खन्नालाई ज्वरो आउँदा युवतीहरु फोटोमा पानी छर्कन्थे । त्यो रापिलो मायावी प्रचण्ड एकाएक निरीह, एकांकी पात्रमा अनुवाद हुनु पछाडिको सामाजिक र राजनीतिक कारण के हो ? प्रचण्डभित्र टायरको हावा भरिएको थियो कि बेलुनको ? प्रचण्डले अरुलाई प्रयोग गरे कि उनी आफैं प्रयोग भए ? उनीबाट राजनीतिको वर्णमाला सिकेकाहरु उनैलाई चिडियाखानामा थुन्ने हैसियतमा कसरी पुगे ? प्रचण्ड कमजोर भएर अरु बलिया भएका हुन या उनलाई प्रतिरक्षात्मक अवस्थामा पुर्याइएको हो ? एउटा नायकलाई खलनायकको किनारमा हुत्याइँदा यी सम्पूर्ण कर्मप्रति उ कति उत्तरदायी हुन्छ ? त्यसो त रावणको राज्यमा विभीषणले सच्चाई छोडेनन् । सत्यको मानक ठहरिने रामराज्यमा कैकेयीको चुक्ली लगाउने दुष्कर्म रोकिएन । यो तथ्यले भन्छ– संगत नै सम्पूर्ण होइन । उनी नेपाली खुल्ला राजनीतिमा सशरीर उपस्थित भएको १७ वर्ष भइसकेको छ । आस र त्रासका मिश्रण यी नेताबाट नेपाली जनताले के पाए, के गुमाए ? विश्लेषण जरुरी छ । 

‘भित्ते राष्ट्रपति’ हुँदै क्षयीकरण हुन शुरु गरेको उनको व्यक्तित्वलाई चितवनको शक्तिखोरमा लडाकूलाई दिएको प्रशिक्षणले उदाङ्ग बनायो । नीति भन्छ–मानिसको जीवनमा १७ खाले परीक्षा हुन्छ । १६ वटा परीक्षामा उत्कृष्ट मानिस १७ औं परीक्षामा उत्तानो पर्छ । त्यो भनेको अर्थपरीक्षा हो । लडाकू सम्बोधन क्रममा पैसाप्रति देखाएको आशक्तिले उनलाई कमजोर बनायो । मान्छेले भन्न नसके पनि मनको भित्री कुनामा हिसाव राखे । प्रधानमन्त्री भएपछि माटोे छोए सुन हुन्छ भन्ने भ्रम पालेका प्रचण्डलाई कटुवाल प्रकरणले सपनाबाट ब्यूँझाइदियो । एक समय सेना बन्ने योजना बनाएका प्रचण्डलाई त्यही सिपाहीको छायाँले राजनीतिक जीवनमा ग्रहण लगाइदियो । यो प्रकरणपछि उनी सार्वजनिक आलोचनाका पात्र बन्न थाले । दलहरुमा अविश्वासको बीउ रोपिन थाल्यो । त्यसपछि उनले नेतृत्व गरेको माओवादीले न विचार जित्यो, न व्यवहार नै ।

समकालीन नेताहरुमा प्रचण्ड परिस्थितिअनुसार लचक हुने, झटपट नयाँ निर्णय दिने, जोखिम मोल्ने, गल्ती स्वीकार्ने र स्थायी ईगो कसैसंग नराख्ने अलग्गै गुण भएका नेता मानिन्थे  । ती गुण घुलित भएर प्रकारान्तरमा पानी रंगमा रुपान्तरित हुँदै गए । उनीभित्रको भिजन र ह्याउ कोटरीमा सीमित हुँदै गयो । अवसरवादी, शक्तिका दलालहरुले उनलाई हतियार बनाउँदै गए । जुन जगमा प्रचण्ड उभिएका थिए, त्यो जगमा धमिरा लागेको पत्तै पाएनन् । नामअनुसार काम भइदिएको भए रोल्पामा बस्दा उनले भात चाटेको सिल्भरको थाल संग्रहालयमा हुने थियो । युद्धमा लगाएको ‘कम्ब्याट ड्रेस’ लाखौंको लिलामीमा चढ्थ्यो । तर जोशमा होस गुमाउँदा उनलाई नै लिलाममा चढाउन तयार हुनेको संख्या ह्वात्तै बढ्यो । प्रचण्डका सहकर्मी जनताका सेवक नभएर नव अग्रवालहरु भए । देशकै बद्नाम ठेकेदारले चढाएको घरमा दुईप्रहर रात काट्नुपर्ने अवस्थामा प्रचण्ड पुर्याइए । सेना र पुलिसले घेरिका प्रचण्डले मान पाए, माया गुमाए । 
  
अन्तरविरोधी चरित्र हावी प्रचण्ड जताततै एक्लिएका छन । आफ्नो पार्टीमा मात्र हैन, राष्ट्रिय राजनीतिमा समेत उनको यो नीतिले हावा खाँदै गयो । ‘स्टेट म्यानसीप’को बर्दी क्रमश सम्झौतापरस्त नेतामा क्षयीकरण हुन थाल्यो । लोकतन्त्रको पक्षमा प्रचण्डका दलील अगाडि आइरहँदा तीन दशकदेखि अविछिन्न उनको नेतृत्वमाथि प्रश्न उठ्न नदिने वातावरण आफैंमा निरंकुशताको उत्कर्ष बनेर चाङ लाग्न थाल्यो । न पार्टीमा सञ्चार आयो, न उनी नेतृत्वको सरकारले नयाँ छाप छोड्यो । बरु प्रचण्डका नङमासु मानिएका सहयात्रीले छोडेर हिँडे । प्रचण्डजस्तो शक्तिशाली राजनीतिज्ञको सचिवालय मालपोतको दर्ता चलानी शाखाभन्दा कमजोर बन्यो । प्रचण्डमाथि उठेका पारदर्शिता प्रश्न झन्झन् पेचिला बन्दै गए । संसदीय विकृत राजनीतिको विरोध गर्दै विद्रोहबाट आएको माओवादीले सादगीपूर्ण एवं जनताप्रति उत्तरदायी खालको व्यवहार देखाउनुपर्नेमा प्रचण्डमाथि नवमहाराजको आरोप लाग्यो । यो नै उनले जितेर पनि हारेको गतिलो प्रमाण हो ।  

भाषणमा प्रचण्ड जनतालाई सर्वोपरी मान्छन । तर व्यवहारमा भने राजनीतिलाई सम्भावनाको खेलको रुपमा अनुसरण गर्छन् । जनताको नजरबाटै ‘किक आउट’ भएपछि सम्भावनाको खेल समाप्त हुन्छ भन्ने सत्य प्रचण्डले नबुझेको अर्को सत्य हो । जनताको विश्वास ‘जनबल’ले जितिन्छ, ‘धनबल’ले होइन । सफल क्रान्तिकारी राजनेता ठहरिन्छ भने असफल क्रान्तिकारी अपराधी करार हुन्छ । प्रचण्डको रोजाइ साँघुरिदै गएको छ । आगे उनकै मर्जी ।

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।